काठमाण्डौ । एभरेस्ट बैंक, पोखरा फाइनान्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

तीनवटा वित्तीय संस्थाले वार्षिक साधारणसभा र लाभांश प्रयोजनाका लागि भोलि शुक्रबारदेखि बुक क्लोज गर्ने भएकाले लाभांशको हकदार बन्न आजसम्म सेयरधनी कायम भइसक्नुपर्ने हो ।

गत वर्षको मुनाफाबाट एभरेस्ट बैंकले कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश बैंकको यही पुस २३ गते काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा हुने २५ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ । 
यसैगरी पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ७.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश फाइनान्सको यही पुस १८ गते पोखराको दरबारथो बैंक्वेवमा हुने २३ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक र अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।

यस्तै इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

प्रस्तावित लाभांश इन्फिनिटी लघुवित्तको यही पुस १८ गते नवलपुरको विजयचोकमा आयोजना हुने तेस्रो वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्त गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने र सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा मर्जर र एक्विसिजनसम्बनधी अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभामा पारित हुनेछ ।

यसैगरी संस्थाको पुँजीबढाउनका लागि बोनस सेयर वितरणपश्चात कायम हुन आउने चुक्ता सेयर पुँजीको २५ प्रतिशतले अर्थात् ४ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।