– अर्जुन तिमिल्सिना
काठमाण्डौ। अघिल्लो साता बुधबारदेखि निरन्तर गिरावट आएको सेयर बजार यो साता पनि सम्हालिन सकेको छैन। गएको ४ कारोबारमा बजारमा लगभग ९० अंकले गिरावट आइसकेको छ। सेयर बजार एक किसिमको गिरावट कायमै देखिन्छ।
आम लागनीकर्तामा अहिलेको गिरावट अझै कतिसम्म जान सक्ला भन्ने जिज्ञासा र चासो रहेको पाइन्छ। बजार बढेपछि घट्ने र घटेपछि बढ्ने स्वाभाविक चक्र नै हो। सोमबार पनि सुरुमा केही अंकले बढेको बजार अन्तमा ३० अंकको गिरावटका साथ बन्द भयो।
अब यदि बजार घट्छ भने कतिसम्म घट्न सक्छ र बढ्छ भने कहाँबाट बढ्ला ? यही विषयमा हामीले विभिन्न औजारमार्फत बजारको अध्ययन गर्ने कोसिस गरेका छौँ।
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
यो बजारले बनाएको इलिअट वेभको रेखा चित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीको वेभ (१) ११०० देखि १६५६ सम्म चलेको हुन सक्छ। त्यसपछि वेभ (२) मा केरेक्सन भएर पुनः ११६६ को विन्दुसम्म बजार करेक्सन भएको छ। वेभ (३) मा बजार ३२२८ को विन्दुसम्म करिब डेढ वर्षको समय लगाएर बनाएको देखिन्छ। वेभ (४) करिब ६ महिनाको अवधि लागएर २२६० को विन्दुसम्म र वेभ (५) पनि अब करिब एक वर्षकै समयावधि लिएर ४००० को विन्दुसम्मको यात्रा तय गर्न सक्ने देखिन्छ।
नेप्सेको साढे २ वर्षको चक्रलाई केलाउँदा बजारमा हालको करेक्सन एउटा अल्पकालीन गिरावटमात्रै भएको र कालन्तरमा बजार माथि नै जाने सम्भावना देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो बजार आगामी दिनमा घटेमा ०.२३ प्रतिशतको टेवामा २८०६ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २६९५ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २६२० को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा २५३६ को विन्दुसम्म आउन सक्ने देखिन्छ।
एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ।
यो लाइनलाई आधार मान्ने हो भने आज एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न खोजेको र हिस्टोग्राम नेगेटिभ बनेको देखिन्छ हेर्नुहोस् कालो एरो)। यसले बियरिस सिग्नल भर्खर बनेको देखिन्छ। एमएसीडीमा यस्तो सिग्नल जिरो लाइनभन्दा माथि गएर बनेको भएमा बजार लामो समय बियरिसमा जान सक्ने सम्भावना हुन्छ। तर, अहिले जिरो लाइनभन्दा तल गएर बनेका कारण अहिलेको बियरिस सिग्नल अल्पकालीन पनि हुन सक्छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
यो औजारअन्तर्गत हाल बजारको मूल्यरेखाले मध्य ब्यान्डभन्दा तल गएको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यो आधारमा मूल्यरेखा तल्लो ब्यान्डको यात्रामा चलेको बुझिन्छ। यसले बजारमा केही समय अझै करेक्सनका सम्भावना रहेको बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ।
बजारको हालको आरएसआई ३५.५६ रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु २८ को तहमा पुगेपछि बजार उकालो लागेको थियो भने उच्चतम विन्दु ७२ को तहमा पुगेपछि बजार ओरालो लागेको थियो। यसलाई आधार मान्दा बजारमा क्रमशः बियरिस सिग्नल र कमजोर बन्दै गएको देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १– २६४७
प्रतिरोध २– २६८१
प्रतिरोध ३– २७०४
पिभट प्वइन्ट : २६२४
घटेमा सपोर्ट
सपोर्ट १– २५९०
सपोर्ट २– २५६७
सपोर्ट ३– २५२६
इचिमोकु क्लाउड
इचिमोकू क्लाउडअन्तर्गत मूल्यरेखा क्लाउड पोजिसनभन्दा तल झरेको छ (हेर्नुहोस् कालो एरो)। यदि मूल्यरेखाभन्दा क्लाउड पोजिसनभन्दा तल झर्छन् भने केही समय बजारमा करेक्सन आउन सक्छ।
निष्कर्ष
दीर्घकालमा बजार बढ्ने नै भए पनि अल्पकालका लागि भने बजारको भोलुम र कारोबार तथा केही अल्पकालीन औजारहरुले बजार दैनिक कमजोर बनेको देखिन्छ। तर, पनि बजारमा औसत कारोबार ३ अर्ब रुपैयाँको आसपास भएको देखिन्छ। एमएसीडीमा बियरिस बन्दै गरेको देखिन्छ। तर, यो जिरो लाइनभन्दा तल गएर क्रसओभर बनेका कारण बजारमा फेरि पनि २५०० विन्दुकै आसपासबाट बाउन्स आउन सक्ने सम्भावना पनि प्रबल देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago