– अर्जुन तिमिल्सिना

काठमाण्डौ । साताको पहिलो दिन आइतबार लगभग १०० अंकले बढेको सेयर बजारमा सोमबार ३५ अंकको गिरावट आएको छ। जानकारहरु आजको बजार घटाइलाई नाफाबुकका रुपमा हेर्नुपर्ने बताउँछन्। 

आज हामीले बजारको आगामी यात्रा कस्तो रहला भनेर केही अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत नियाल्ने कोसिस गरेका छौँ। अल्पकालीन औजारले हाललाई बजारमा सामान्य करेक्सन आउने देखिएको छ। यद्यपि, दीर्घकालीन औजारमार्फत हेर्दा बजार करेक्सनहुँदै माथि नै लाग्ने देखिन्छ।

प्राविधिक पक्ष 

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। 

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

बजारको अघिल्लोपटकको न्यून विन्दु २२६० लाई आधार मानेर माइनर डिग्रीमार्फत हेर्दा बजारको हालको यात्रा वेभ ३ चल्दै गरेको देखिन्छ। जसअन्तर्गत वेभ (१) २९८० को विन्दुमा र वेभ (२) ०.७८ प्रतिशत करेक्सन भएर २२८० को विन्दुसम्म बजार आएको मान्न सकिन्छ। अहिले चल्दै गरेको वेभ (३) को उचाइ वेभ (१) को १.६१ प्रतिशतको बढोत्तरीका साथ लगभग ३४०० को विन्दुसम्म करिब १ वर्षको समय लगाएर पुग्न सक्छ। वेभ (४) मा करेक्सन भएर ३२०० सम्म र वेभ (५) मा पुनः बढोत्तरीका साथ इलिअट वेभको वेभ (१) बराबर वेभ (५) हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्ने हो भने यो लगभग ४००० सम्म हुन सक्ने देखिन्छ। यसबीचमा बजारमा सानाठूला करेक्सन आउन सक्छन्। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। 

यो लाइनलाई आधार मान्ने हो भने एक महिनापछि आज २५ अप्रिलमा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन् (हेर्नुहोस् हरियो एरो)। यसले बजार अब बुलिस बन्दै गरेको बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो )बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।

यो औजारअन्तर्गत मूल्यरेखाले आज मध्य ब्यान्डलाई टेस्ट गरेको छ तर ब्रेकआउट हुन सकेको छैन।  

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ। 

बजारको हालको आरएसआई अप ट्रेन्डमा ४० को जोनमा रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु २७ को तहमा पुगेपछि सूचक उकालो लागेको थियो भने उच्चतम विन्दु ७३ को तहमा पुगेपछि ओरालो लागेको थियो। यसलाई आधार बजार बुलिस यात्रामा रहेको बुझिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २६५२
  • प्रतिरोध २– २७६०
  • प्रतिरोध ३– २८७३

पिभट प्वइन्ट : २७७५

घटेमा सपोर्ट 

  • सपोर्ट १– २४६८
  • सपोर्ट २– २३९०
  • सपोर्ट ३– २२८२

निष्कर्ष

आज बजारमा ३५ अंकको गिरावट आउँदा रातो क्यान्डल बनेको छ। बजारलाई दीर्घकालीन औजार इलिअट वेभमार्फत हेर्दा माइनर डिग्रीको वेभ ३ चल्दै गरेको मानिन्छ। वेभ ३ मा बजार निकै तीव्र चढाव हुने भएकोले बजारले अबको ६ महिनादेखि १ वर्षको समयावधिमा पहिलाको रेकर्डलाई ब्रेक गर्न सक्ने सम्भावना पनि उत्तिकै छ। भलै, यसको निश्चितताका लागि बजारले डाउ थेउरीअन्तर्गत २५०८ को विन्दुबाट बजार माथि नै जानुपर्ने हुन्छ। केही अल्पकालीन औजार एमएसीडीमा आज एक महिनापछि दैनिक चार्टमा बुलिस क्रस बनेको छ र हिस्टोग्राम पोजेटिभ भएको छ। यो आधारमा आजको गिरावटलाई बजार माथि नै जान भएको स्वाभाविक करेक्सन मान्न सकिन्छ। बजारको विगतको हिस्ट्री हेर्ने हो भने यस्तो करेक्सन बजारमा अझै १–२ दिन हुन सक्छ। जुन भनेको दीर्घकालीन लगानीका लागि बजार पस्ने स्वर्णिम अवसर पनि हुन सक्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।