काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदबाट पारित भएको अमेरिकी सहयोग निकाय मिलिनियम (एमसीसी) बारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका छन्। 

अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यमा दुई सरकारबीच भएको सम्झौता र सहमतिको झन्डै आधा दशकपछि एकफर्ती व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास भएको उल्लेख छ। ‘यो हास्यास्पद कुरा हो’, वक्तव्यमा भनिएको छ, ‘यो तथ्य प्रतिनिधिसभाको बैठकमा सत्तापक्षीय केही माननीयहरुबाटै अभिव्यक्त भएको छ।

प्रतिनिधिसभाको बैठकमा प्रस्तुत ‘व्याख्यात्मक घोषणा’ शाकाहारीले ‘किताबको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि’ भनेजस्तै रहेको वक्तव्यमा तर्क छ। ‘गठबन्धनका नेताहरु त्यस घोषणालाई लालीपाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन्’, व्यक्तव्यमा भनिएको छ। 

एमसीसी आफैंले वक्तव्य दिएर यस्ता कथित घोषणाले सम्झौतामा कुनै फरक नपार्ने स्पष्ट पारिसकेको ओलीले भनेका छन्। ‘तर, अझै पनि केही नेताहरु ‘व्याख्यात्मक घोषणा’ हिजो आफूले गलत थियो भनिएको एमसीसीलाई दुरुस्त पार्ने भ्याक्सिनका रुपमा प्रचार गर्न खोज्दैछन्’, वक्तव्यमा भनिएको छ, ‘यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो। हामी केही नेताहरुका ‘लत्रिएका जुँगा’लाई ‘ठाडो पार्ने हरियार’का रुपमा संसदीय अभ्यासलाई विकृत पार्दै दुरुपयोग गरिएकोमा दुःखित छौँ।’

एमसीसी पारितसँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारबाजीको पटाक्षेप भएको ओलीको भनाइ छ। ‘यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ’, उनले भनेका छन्, ‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ ।’