काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी भारतीय जीवन बिमा निगम (एलआईसी) ले छिटै सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। 

एलआईसीले आईपीओ जारी गर्ने प्रक्रिया सुरु गरिसकेको छ। यो आईपीओ भारतमा यो दशककै ठूलो आईपीओ हुने बताइएको छ। 

मार्केट एक्सपर्टहरु यो आईपीओको तुलना केही महिनाअघि जारी भएको विश्वकै ठूलो तेल उत्पादन कम्पनी साउदी आरामकोको आईपीओसँग गरिरहेका छन्। 

गत फेब्रुअरी १ मा भारतीय संसदमा बजेट पेस गर्दै केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले एलआईसीले आईपीओ जारी गर्ने घोषणा गरेकी थिइन्। उनले सरकारले छिटै एलआईसीले आईपीओ जारी गर्ने बताएकी थिइन्। 

वित्त सचिव राजीव कुमारले एक कार्यक्रममा एलआईसीलाई स्टक मार्केटमा सूचीकृत गर्न थुप्रै प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताएका थिए। यसका लागि केही विधेयक परिवर्तन गर्नुपर्ने भन्दै उनले ती सबै प्रक्रिया सुरु भइसकेको जानकारी दिएका थिए। 

स्टक मार्केटमा सूचीकृत भएपछि बजार मूल्यांकनको हिसाबले एलआईसी भारतको सबैभन्दा ठूलो कम्पनी बन्नेछ। यसको बजार मूल्यांकन भारु ८ लाख करोडदेखि १० लाख करोडसम्म पुग्न सक्छ। – एजेन्सी