काठमाण्डौ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका एघारौं वर्ष पूरा गरी बाह्रौं वर्षमा प्रवेश गरेको छ । 

बाह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७५ चैत्र २०, २१ र २२ गते सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । 

कम्पनीले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवालाई विशेष प्राथमिकता दिई नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न शाखाहरु तथा प्रधान कार्यालयमा २०७५ चैत्र २१ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ७३५ जनाले रक्तदान गरेका छन् । 

मैतीदेवीस्थित प्रधान कार्यालयको प्राङ्गणमा चैत २१ गते लायन्स क्लब अफ काठमाण्डौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ८६.जना सहभागीहरुबाट रक्तदान गरिएको छ । सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरियो ।

वार्षिकोत्सवकै अवसरमा चैत २२ गते काठमाण्डौंमा जीवन बीमा सम्बन्धी जनचेतनामूलक प्रभातफेरी कार्यक्रम साथै मैतिदेवी मन्दिर परिसर सरसफाई गरियो । चैत २० गते सफलता एचआइभी शिक्षा सदन(बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरिएको थियो ।

देशभरका ११५ वटा शाखा उपशाखामार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले ११ वर्षको अवधिमा २०७५ फागुन मसान्तसम्ममा कुल ४ लाख ५५ हजार बीमालेख बिक्री गरी रु. १६ अर्व ६९ करोड प्रिमियम संकलन गरिसकिएको छ भने २०७५ पौष मसान्तसम्म कम्पनीको जीवन बीमा कोष रु.१५ अर्ब भन्दा बढी रहेको छ । कम्पनीको लगानी रु. १५ अर्ब ३५ करोड रहेको छ । 

हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २० वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ समेत प्रचलनमा ल्याएको छ ।