-भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजार बुलिस ट्रेण्डमा कुदिरहेको छ । बढ्दो बजारमा नयाँदेखि पुराना लगानीकर्ताहरुको उल्लेख्य सहभागिता र सक्रियता पनि बढ्दै गइरहेको छ ।

बढ्दो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको सेयरमूल्य पनि भारी वृद्धि भएको देखिन्छ । प्राविधिक तथा आधारभूत विश्लेषणबिनै फेसबुकमा कसैले लेखेको वा कसैले हौवा पिटाइएका कम्पनीहरुमा गरिने अन्धाधुन्ध लगानीका कारण कालान्तरमा पुर्पुरोमा हात राख्नुपर्ने अवस्था आउनसक्छ । 

एकाध व्यक्तिबाहेक कम्पनीका बारेमा गहन अध्ययन र विश्लेषण नगरी सेयर बजारसँग सम्बन्धित ग्रुपहरुमा सेयर किनबेचका विषयमा निकै चर्का बहसहरु देखिन्छन् । हुन त सेयर बजारलाई हल्लाको बजार(नोइज मार्केट) नै भनिन्छ । अझ बढ्दो बजारमा सही सल्लाह र कम्पनीकाबारे यथार्थ धरातललाई बिर्सिदै हौसिएर उच्च मूल्यमा सेयर खरिद गर्दा जोखिमसमेत उस्तै अधिक हुन्छ । 

आफूले किनेका सेयर बढ्नै पर्ने र मार्केटिङ गरी सोझासाझा लगानीकर्ताहरुलाई उक्त सेयर भिडाएर कुलेलम ठोक्ने प्रवृत्ति र चलन विश्वका जुनसुकै सेयर बजारमा पनि हुन्छ । कतिपय कम्पनीका सेयरमूल्य कृत्रिम रुपमा बढाउने र अकुत नाफा कुम्ल्याउने प्रवृत्तिका पछाडि लाग्ने भीड नेपालको सेयर बजारमा ८० प्रतिशतभन्दा धेरै देखिन्छ । 

हिजोआजका अधिकांश युवाहरु भने आधारभूत र प्राविधिक पक्षलाई गहन र मिहीन अध्ययनसहितको लगानी गरेरै पनि लाखौं कमाउन सफल छन् । 

भर्खरै पनि नेपाल धितोपत्र बोर्डले एक विज्ञप्तिमार्फत लगानीकर्ताहरुलाई अध्ययन र विश्लेषण गरेर मात्रै सेयर लगानी गर्न सुझाएको थियो । बढ्दो बजारको मैमत्तालाई चिर्दै अधिकांश लगानीकर्ताहरुले बोर्डको विज्ञप्तिलाई नै हाँसो र मजाकको रुपमा उडाइदिए, तर नियामक निकायले अध्ययन र सुझबुझका साथ लगानी गरे जोखिम नहुने सकारात्मक सन्देश नै दिएको थियो । 

पछिल्ला समयमा केही कम्पनीका सेयरमूल्य रकेटको गतिमा दौडिएको देखिन्छ । हुन त बजार माग र आपूर्तिको सिद्धान्तमा आधारित हुन्छ । नेप्सेमा सूचीकृत कतिपय कम्पनीका सेयर कित्ता केही लाख मात्र हुँदा त्यसमा कर्नरिङ गरी सेयरमूल्य बढाउने अभ्यास पुरानो भने पक्कै होइन । कतिपय कम्पनी हल्लाकै भरमा बढाइएका हुन्छन् भने कतिपय कम्पनीले गरेको कार्यसम्पादनमा अब्बल ठहरिएर पनि बढाइएका हुन्छन् ।

हिमालयन डिष्टीलरी, नेपाल टेलिकम, नेपाल पुर्नबीमा कम्पनी, बिशाल बजार कम्पनीलगायतका कम्पनीहरुको मूल्य एक महिनाकै अवधिमा भारी वृद्धि भएका छन् । आधारभूत रुपमा ती कम्पनीहरुको अवस्था र कम्पनीका बारे यहाँ केही विश्लेषण गर्न खोजेका छौं ।

हिमालयन डिष्टीलरी लिमिटेड
हिमालयन डिष्टीलरी लिमिटेडले प्रथम त्रैमासमा निकै राम्रो प्रतिवेदन पेश गर्यो जसको सेयरमूल्य आज पनि निरन्तर बढिरहेको छ । कम्पनीको इपीएस १२९.६३ रुपैयाँ, पीई रेसियो ३२.३६ गुणा  र बूक भ्यालूृ २४९.१४ रुपैयाँ रहेको छ । कम्पनीको सेयरमूल्य एक महिनाकै अवधिमा ११६ प्रतिशत हाराहारी बढेको छ । कम्पनीले लगातार निकै राम्रो लाभांशसमेत वितरण गरेको इतिहास छ । कम्पनीले गत आवमा मात्रै १०२.६३ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष पनि बम्पर लाभांश वितरण गर्ने प्रशस्त आधारहरु देखिएकाले नै कम्पनीको सेयरमूल्य निरन्तर बढेको देखिन्छ ।

नेपाल टेलिकम
केही सयमअघि टेलिकमको सेयरमूल्य ६ सयदेखि ७ सय रुपैयाँमा सीमित थियो । तर बढ्दो बजारमा यो कम्पनीको सेयरमूल्य पनि निरन्तर बढ्दो क्रममा छ । कम्पनीको इपीएस ४०.४७, पीई रेसियो ३१.३८ गुणा र बूक भ्यालू ६३१.०४ रुपैयाँ रहेको छ । टेलिकम क्षेत्रमध्ये एकमात्रै कम्पनी नेप्सेमा सूचीकृत र बजार पूँजीकरणमा समेत शीर्ष स्थानमा पर्न सफल टेलिकमको व्यवसाय दिनानुदिन वृद्धि भइरहेतापनि नेतृत्वमा राजनीतिक नियुक्ति र भागबण्डाले कम्पनीले लगानीकर्ताहरुबाट अपेक्षित विश्वास आर्जन गर्न सकेको छैन । यद्यपि टेलिकमले वर्षेनि लगातार नगद लाभांश भने वितरण गरिरहेको छ । कम्पनीले वार्षिक ५० प्रतिशत हाराहारी प्रत्येक वर्ष लाभांश वितरण गरिरहेको इतिहास देखिन्छ । तर, लगानीकर्ताहरु नगद लाभांशको पछाडि खासै आकर्षिक हुँदैनन् । 

नेपाल पुर्नबिमा कम्पनी
यसैवर्ष पुर्नबीमा कम्पनीले दोस्रो बजारमा कम्पनीको सेयर सूचीकृत छ । कम्पनीको इपीएस १२.६३ रुपैयाँ रहेको छ भने बूक भ्यालू १५०.९२ रुपैयाँ छ । यसैगरी कम्पनीको पीई रेसियो १४०.४७ छ । कम्पनीले हालसम्म पनि लाभांश वितरण गरेको छैन । पछिल्लो एक महिनाको अवधिमा कम्पनीको सेयरमूल्य मात्रै १०४.१८ प्रतिशतको वृद्धि भएको देखिन्छ । पुर्नबीमा कम्पनीका रुपमा हाल एकमात्रै कम्पनी रहेको र १० अर्ब चुक्तापूँजी मात्र भएकाले व्यवसाय विस्तारका लागि हकप्रद सेयर जारी नगरी नहुने तर्क र बहस लगानीकर्ताहरुमा रहेकाले यो कम्पनीको सेयरमूल्य आकासिएको हो । तर यता कम्पनीले भने यस विषयमा कुनै औपचारिक जानकारी दिएको छैन । सरकारको मात्र ४४ प्रतिशत लगानी रहेको यो कम्पनीमा चुक्तापूँजी बढाउन मन्त्रिपरिषद्बाट वा संसदबाटै स्वीकृत लिनुपर्छ । यसअघि पनि नागरिक लगानीकोषले हाल कायम ३ अर्ब रुपैयाँ चुक्तापूँजी बढाउन धेरै वर्षको कसरतपछि मात्रै बल्लतल्ल सरकार हकप्रद सेयर जारी गर्ने निर्णयमा पुगेको थियो । कोरोनाले थिलथिलो भई अर्थतन्त्रलाई पुर्नजीवित बनाइनुपर्ने सरकारको बाध्यताकासामू हकप्रद सेयर जारी गर्ने विषय अहिले कार्यान्वयनमा आउने संभावना नै नरहेको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन
एसटीसीको सेयरमूल्य निरन्तर उकालो लागिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाट ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको र

एजीएमद्वारा पारित गर्दैैछ । बजारमा यस कम्पनीको सेयर निकै दूर्लभ मानिन्छ । कुनै बेला घाटामा गएको यो कम्पनी हाल केही वर्षदेखि नाफामा जान सफल भई वार्षिक २५ देखि ३५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ । यो कम्पनीको इपीएस २७.६९ रुपैयाँ छ र बूक भ्यालू ६३२.५४ रुपैयाँ छ । यो कम्पनीको पीई रेसियो २१९ गुणा छ ।

बिशाल बजार कम्पनी
संस्थागत सुशासन र अपारदर्शी कम्पनी हुँदाहुँदै पनि बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जले समेत यो कम्पनीको कारोबार रोक्का गरेको छैन । केही समयअघि प्रतिकित्ता १७ सय हाराहारी सेयरमूल्य रहेको यो कम्पनीको सेयरमूल्य पछिल्लो एक महिनाको अवधिमा ३३.१७ प्रतिशतले वृद्धि भएको देखिन्छ । भौतिक सम्पत्तिमा निकै अब्बल रहेको यो कम्पनीको बिल्डिङसहित १२ रोपनी जग्गा रहेकोमध्ये ४ रोपनी कम्पनी र ८ रोपनी सरकारी भनी अदालतले फैसला गरेको छ । सर्वोच्च अदालतले ८ रोपनी जग्गाको सरकारी मूल्यांकन बराबर रु ३.९४ अर्ब रुपैयाँ सेयर दिन आदेश दिएको छ, जुन निर्णय विरुद्ध कम्पनीले पुनरावलोकनका लागि आग्रह गरेको छ । कम्पनीले विगत लामो समयदेखि साधारणसभा समेत गर्न सकेको छैन भने लाभांश समेत लगानीकर्ताहरु दिन सकेको छैन । 

बोटलर्स नेपाल तराई
बोटलर्स नेपाल तराईको सेयरमूल्य एकमहिनाको अवधिमा ४४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कम्पनीको इपीएस ९४५.४९ रुपैयाँ र पीइ रेसियो ९.९ रहेको छ भने बूक भ्यालू २०३७ं.९ रुपैयाँ छ । महँगा कम्पनीको सेयरमूल्य बढेको लहडमा यो कम्पनीको सेयरमूल्यसमेत १० हजार नाघेको थियो । विगत ५ वर्षको लाभांश इतिहास हेर्दा कम्पनीले प्रत्येक वर्ष २५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा आव २०७४/७५ मा ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

शिवम् सिमेन्ट
शिवम सिमेन्टको सेयरमूल्य पछिल्लो एक महिनाको अवधिमा ८१.०६ प्रतिशतले सेयरमूल्य बढेको छ । कम्पनीको इपीएस २६.३८ रुपैयाँ र पीई रेसियो ५०.३८ गुणा छ भने बूक भ्यालू २२१.२१ रुपैयाँ रहेको छ । कम्पनीले विगत २ वर्षमा १५.७९ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवबाट लगानीकर्ताहरुलाई २४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनी बैंकको ऋणबाट मुक्ति भइसकेको र होङ्सी सिमेन्टमा कम्पनीको
० प्रतिशत लगानी रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य पछिल्लो एक महिनाको अवधिमा ४१ं.८३ प्रतिशत मूल्य वृद्धि भएको छ । कम्पनीको इपीएस १६.६७ रुपैयाँ र पीई रेसियो ११९.३८ गुणा कायम छ भने कम्पनीको बूक भ्यालू १६६.७२ रुपैयाँ रहेको छ । बीमा क्षेत्रमै नेतृत्व गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सको पृथक ब्राण्ड सेयर बजारमा पनि रहेको छ । ब्लु चिप कम्पनीका रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुलाई सधैं बम्पर लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आव २०६८/६९मा १२६.३१ प्रतिशत लाभांश वितरण गरेको रेकर्ड छ । कम्पनीले २६ प्रतिशतदेखि ७० प्रतिशत हाराहारीसम्म लाभांश वितरण गरिरहेकोमा आव २०७५/७६को लाभांशसमेत घोषणा हुन अझै बाँकी छ ।