– अर्जुन तिमिल्सिना

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेसन (एसटीसी) निजी–सार्वजनिक साझेदारीमा खुलेको नेपालकै सबैभन्दा ठूलो व्यापारिक संस्था हो। यो कम्पनीको स्थापना ४८ वर्षअघि भएको थियो। सन् १९६३ मा दर्ता भई सञ्चालनमा आएको यो कम्पनीले दैनिक उपभोग्य वस्तुहरु सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ। 

यो कम्पनीमा ७९ प्रतिशत स्वामित्व  सरकारको र २१ प्रतिशत स्वामित्व सर्वसाधारणको रहेको छ। कम्पनीको केन्द्रीय व्यापारी कार्यालय काठमाण्डौको कालीमाटीमा छ। यसका शाखा, उपशाखा र डीपोहरु देशभर छरिएर रहेका छन्। 

कम्पनीले अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन, तेल, चामल, चिनी र ग्यासजस्ता वस्तुहरु सहुलियत मूल्यमा बिक्रीवितरण गर्दै आएको छ। कम्पनीले कोइला, टायर तथा सिमेन्ट पनि सस्तो तथा सुलभ मूल्यमा बिक्री गर्ने जनाएको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासम्म चुक्तापुँजी २३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडामा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनीले ४८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

कम्पनीको वार्षिकीकरण ईपीएस ८.४८ रुपैयाँ, नेटवर्थ ४४९.६४ रुपैयाँ र प्रतिसेयर कुल ३७७७ रुपैयाँ रहेको छ। कम्पनीको नौ वर्षको औसत लाभांश २९.५ प्रतिशत रहेको छ।

मैनबत्ती विश्लेषणका आधारमा  

मैनबत्ती विश्लेषणअन्तर्गत यो कम्पनीको सेयर मूल्यलाई चार्टमा राख्दा ‘बुलिस हरामी’ क्यान्डल बनेको देखिन्छ। जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई हरामी क्यान्डल भनेर बुझिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो देखिन्छ (हेर्नुहोस् तस्बिरमा)। बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ। यदि रातो लामो क्यान्डलको ठीकपछाडि छोटो हरियो क्यान्डल बन्छ भने यसलाई बुलिस हरामी भनेर बुभिन्छ (हेर्नुहोस् हरियो एरो)। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ। यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन्।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।

कम्पनीको लामो समयको चार्टलाई केलाउँदा एकपल्ट उच्च मूल्य ११५०० रुपैयाँसम्म पुगेर हालको न्यून विन्दु ४७०० रुपैयाँसम्म इन्टमिडिएट डिग्रीको ए, बी र सी बनाउँदै एउटा चक्र पूरा गरी पुनः उकालो लागेको देखिन्छ। नयाँ चक्रअन्तर्गत वेभ (१) मा ७५०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। वेभ (२) मा करेक्सन भएर फेरि ५५०० रुपैयाँसम्म र वेभ (३) मा पुनः उकालो लागेर ९००० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। त्यसपछि पुनः वेभ (४) मा करेक्सन भएर ८००० रुपैयाँसम्म आएर यो कम्पनीको सेयरमूल्य फेरि एकपल्ट पहिलेको रेकर्ड ११५०० रुपैयाँसम्म करिब २ वर्षको समयावधि लगाएर पुग्न सक्ने देखिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ६६०९ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ६२७० रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ५९७९ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा ५६५७ रुपैयाँसम्म आउन सक्ने देखिन्छ।(जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। 

यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गत २५ जनवरीमा  माथिबाट काटेको छ र बियरिस क्रसओभर बनेको छ। जुन अझै भ्यालिड नै रहेको छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम नकारात्मक र क्रमशः छोटा–छोटा बन्दै गएका छन्। यो आधरमा यो कम्पनीको सेयर मूल्य घट्ने क्रम रोकिएर खरिदचाप पर्दै गएको अनुमान लगाउन सकिन्छ। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

कम्पनीलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ। क्यान्डल हरियो मारुबुजु बनेका छन्। अप्पर ब्यान्ड र लोअर ब्यान्डबीचको दूरी बढेको छ। केही दिन पहिला क्यान्डलले लोअर ब्यान्डलाई ब्रेक गरेर इन्भर्टेड ह्याम्मर बनेको बनाएको छ। यसले खरिदकर्ता हावी भएको बुझिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको यो कम्पनीको आरएसआई ३० मा रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोनमा रहेको छ भन्ने हो। अघिल्लोपटक यो विन्दु ७३ को तहमा पुगेपछि सेयरमूल्यमा करेक्सन आएको थियो। यो कम्पनीको न्यून आरएसआई १५.७६ मा आउँदा अघिल्लोपटक सेयरमूल्यले बुलिस यात्रा तय भएको थियो। हाल यो कम्पनीको मूल्य ओभर सोल्ड जोनमा रहेकोले सेयरमूल्यमा बढोत्तरीको सम्भावना देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ६४५९
  • प्रतिरोध २– ७०६८
  • प्रतिरोध ३– ७३८३

पिभट प्वइन्ट :  ६११०

घटेमा सपोर्ट 

  • सपोर्ट १– ५५३१
  • सपोर्ट २– ५२१२
  • सपोर्ट ३– ४६०३

निष्कर्ष 

केही अल्पकालीन औजारहरुलाई केलाउँदा यो कम्पनीको मूल्य पुनः उकलो यात्रा तय गर्न सक्ने देखिन्छ। क्यान्डलहरु हरिया बन्दै जानु, बोलिंगर ब्यान्ड फराकिलो भए पनि आरएसआई बढ्दो क्रममा हुन तथा एमएसीडीअन्तर्गत हिस्टोग्रामा फिक्का र छोटा–छोटा हुनुले कम्पनीको सेयरमूल्य उकालो लाग्न सक्ने अनुमान लगाउन सकिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।