– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नुनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि झन्डै ५९ वर्षअघि स्थापित साल्ट ट्रेडिङ करोपोरेसन नेपालकै एउटा पुरानो संस्था हो। झन्डै ४८ वर्षयता भने यो संस्था पब्लिक प्राइभेट पार्टनसिप कम्पनीअन्तर्गत दर्ता भएर सञ्चालनमा छ। यो कम्पनीले दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएको छ। 

यो कम्पनीको केन्द्रीय व्यापारिक कार्यालय काठमाण्डौको कालिमाटीमा छ। यसका शाखा, उपसाखा र डिपोहरु देशभर छरिएर रहेका छन्। 

यो कम्पनीले अत्यावश्यक खाद्यसामग्री जस्तै– नुन, तेल, चिनी चामल, दाल र ग्यासजस्ता सामग्री सुलभ मूल्यमा बिक्रीवितरण गर्छ। कम्पनीले कोइला, टायर तथा सिमेन्ट पनि सस्तो तथा सूलभ मूल्यमा बिक्री गर्ने जनाएको छ।

यो कम्पनीमा ७९ प्रतिशत सरकार र २१ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। 

आधाभूत पक्ष

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेयरपुँजी २३ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँको छ। कम्पनीको ईपीएस ७.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४६०.५० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६५४ रुपैयाँ रहेको छ। 

कम्पनीको १० वर्षको वार्षिक औसत लाभांश दर २६ प्रतिशत रहेको छ। 

मैनबत्ती विश्लेषणका आधारमा  

मैनबत्ती विश्लेषणअन्तर्गत यो कम्पनीको सेयरमूल्यलाई चार्टमा राख्दा स्पिनिङ टप क्यान्डल बनेको देखिन्छ। यसले अनिणर्यको संकेत गर्छ। तर, हरियो मारुबुजु क्यान्डलपछि यस्तो क्यान्डल बन्छ भने यसले सेयरमूल्यमा केही करेक्सन हुन सक्ने देनिन्छ।  

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। 

यो सिद्धान्तअनुसार यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ४०२८ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ३७९५ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ३६१७ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा ३४३० रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

बोलिंगर ब्यान्ड, एमएसीडी  तथा आरएसआईका आधारमा

दैनिक चार्टमा यो कम्पनीको बोलिंगर ब्यान्डलाई नियाल्दा मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएर ब्रेकआउट भएको छ। आजको क्यान्डलमा माथि लामो धागो बनेको देखिन्छ। यसले कम्पनीको सेयरमूल्यमा केही नाफा बुक हुँदै गरेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)

त्यसैगरी म्याक्डीमा गत २१ जुनमा बुलिस क्रसओभर बनेको अझै भ्यालिड देखिन्छ भने हिस्टोग्राम पनि सकारात्मक नै छन्। आरएसआई भने ७६ को ओभरबट जोनमा रहेको छ। यसले आगामी दिनमा यो कम्पनीको सेयरभाउमा केही करेक्सन आउन सक्ने देखिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो साताको यो कम्पनीको पिभट प्वइन्ट ३४२४ मा रहेको छ। यसका अर्थ यो कम्पनीको सेयरमूल्य यहाँभन्दा माथि रहुनजेल सेयरमूल्य बुलिस नै रहने बुझिन्छ। 

बढेमा प्रतिरोध 

प्रतिरोध १– ३९१४
प्रतिरोध २– ४२०१
प्रतिरोध ३– ४६९१

पिभट प्वइन्ट : ३४२४

घटेमा सपोर्ट 

सपोर्ट १– ३१३१
सपोर्ट २– २६४६
सपोर्ट ३– २३६०

 

निष्कर्ष

यो कम्पनीका इन्डिकेटरहरुलाई केलाउँदा सेयरमूल्यमा करेक्सन आउन  सक्ने  देखिन्छ। आरएसआई ओभरबट जोन ७६ को तहमा रहेको छ। त्यसैगरी बोलिंगर ब्यान्डमा पनि अप्पर ब्यान्डलाई छोएर ब्रेकआउट भएको छ भने कम्पनीको आवरली चार्टमा हेर्दा अन्तिम आवरमा राता क्यान्डल बनेका छन्। यसले पनि अन्तिम समयमा नाफा बुक भएको बुझिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।