काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (एसटीसी) सहित तीन कम्पनीले प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज आइतबार (मंसिर १४ गते) अन्तिम मौका रहेको छ।

एसटीसी, कुमारी बैंक र सिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। यी तीनै कम्पनीले भोलि (मंसिर १५ गते) बाट लाभांश र साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज (मंसिर १४ गते) सम्म कायम सेयरधनीहरुमात्र यी कम्पनीहरुले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।

एसटीसीले आर्थिक वर्ष २०७५/७६ का लागि २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश एसटीसीको यही मंसिर ३० गते हुने वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

यसैगरी कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकको यही मंसिर २९ गते आयोजना हुने २० औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ। 

उता रिडी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जुन कम्पनीको यही मंसिर २६ गते हुने १९ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।