काठमाण्डौ। एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो नियुक्तिसम्बन्धी सम्झौता आज असार १२ गते सम्पन्न भएको छ। सम्झौतामा एसवाई प्यानल नेपालका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक Choi Dongil तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्। कम्पनीले हाल कायम जारी पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

२०७४ असार २० गते स्थापना भएको एसवाई प्यानल नेपाल कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिह्न प्राप्त एसवाई कम्पनी कोरियाको लगानी भएको कम्पनी हो। यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ। 

कम्पनीले चितवनको रत्ननगर–१४ पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माणसम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामग्री जस्तै स्यान्डबीच प्यानेल अन्तरगत एफआर३ फायर रेटिङ भएको ईपीएस प्यानल, यूपीभीसीको झ्याल तथा ढोका, स्टिल ढोका, एबीसी ढोका, कोल्डस्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफ प्यानल र कोल्डस्टोरमा आवश्यक हुने स्टिल पफ ढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। 

कम्पनीको हाल नेपालभरि ७५ वटा डिलर सञ्चालनमा रहेका छन् भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्ग मिटर प्रतिदिन रहेको छ। पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटाभन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौँ घरहरु, फ््याक्ट्री तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको जानकारी सम्झौताका बखतमा कम्पनीका प्रबन्ध सञ्चालकले गराए।