काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचकले यसअघिको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।
आज नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत फागुन ९ गते नेप्से २६४० को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै नेप्सेले चुमेको उच्च विन्दु थियो।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक ४.३३ अंकले बढेर ४७०.७५ को उचाइमा पुगेको छ। कारोबार रकम पनि ह्वात्तै बढेर पौने ९ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार विश्लेषक गोविन्दप्रसाद घिमिरे आजको वृद्धिले बजार तत्काल घट्ने सम्भावना नदेखिएको बताउँछन्। ‘अब तेस्रो त्रैमास वित्तीय विवरण नआउँदासम्म धेरै ठूलो करेक्सन आउने सम्भावना छैन’, उनी भन्छन्।
अहिले राजनीतिक माहौल पनि बजारअनुकूल रहेको उल्लेख गर्दै घिमिरेले आज निर्जीवन बीमा समूहमा अत्याधिक उछाल देखिनुका कारण निर्जीवन बीमा कम्पनीहरुले अब पुँजी वृद्धिका लागि हकप्रद निकाल्ने सम्भावना प्रबल हुनु नै रहेको बताए।
घिमिरे आजको कारोबार रकमले अब बजार छिटै ३००० को विन्दुमा पुग्ने छनक देखिएको बताउँछन्। ‘यतिबेला दीर्घकालनी फाइदाका लागि बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्नु उचित देखिन्छ’, उनले भने, ‘पुँजीगत नाफा लिनका लागि वित्तीय अवस्था राम्रा भएका र साना पुँजी भएका कम्पनी उपयुक्त हुन्छ।’
सक्रिय लगानीकर्ता मनीष चुडाल पनि अब बजार ३००० को विन्दुमा नपुगी ठूलो करेन्सन नआउने दाबी गर्छन्। ‘बैंकहरु पनि कोरोनापछि लगानी प्रवाहमा आक्रामक देखिएकोले यिनीहरुको तेस्रो त्रैमास रिपोर्ट राम्रै आउने देखिन्छ’, उनले भने, ‘त्यसैले राम्रा र सस्ता बैंकहरुमा लगानी गर्दा उचित प्रतिफल प्राप्त हुन सक्छ।’
अहिलेको माहौल हेर्दा बजार अझै हंग्री बायर रहेको पुष्टि हुने पनि चुडालको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ५४३.९८ अंकले उकालो लागेको छ। जीवन बीमा समूह १५४.८१ अंकले बढेको आज बैंकिङ समूहमा १४.६७ अंक, विकास बैंक समूहमा २२.३९ अंक, जलविद्युत् समूहमा ३७.१४ अंक, वित्त समूहमा ४३.९६ अंक, अन्य समूहमा ६९.०५ अंक र लघुविवत्त समूहमा २३ अंकको बढोत्तरी भएको छ।
यो दिन व्यापार समूह सर्वाधिक २०३.५९ अंकले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह २९.८७ अंकले घटेको आज उत्पादन तथा प्रशोधन समूहमा ८.०७ अंक, लगानी समूहमा २.४६ अंक र म्युचुअल फन्ड समूहमा ०.११ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन निफ्राको सार्वधिक ४७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको २८ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८२ लाख रुपैयाँ, नबिल बैंकको २४ करोड ५७ लाख रुपैयाँ, प्रुडेन्सिल इन्स्योरेन्सको २३ करोड ३२ लाख रुपैयाँ, नेपाल बैंकको २२ करोड ८२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २१ करोड ६३ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको १९ करोड ९४ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको १९ करोड ५६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १८ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सान्जेन जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन लुम्बिनी जनरल इन्स्योरेन्स र श्री इन्भेस्टमेन्टको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
आज एसटीएसीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago