काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले कोभिडको नयाँ ओमिक्रोनको संक्रमण थप फैलन नदिन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो। जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरु पत्ता लगाई किटद्वारा परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरुको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरुमा प्रोटोकलअनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान तथा खोपको प्रयोगमा वृद्ध गर्नलगायत निर्देशन दिएको मन्त्रालयले निर्देशन दिएको छ।

भाइरसले नयाँ नयाँ उत्परिवर्तन गरी नयाँ भेरिएन्टहरु आउन सक्ने सम्भावना कायमै रहेको हुँदा समय–समयमा आउने थप निर्देशिका तथा जानकारीहरुको पूर्ण पालना गर्न गराउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।