काठमाण्डौ । बजारभन्दा निकै महङ्गो मूल्यमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सामान ल्याउन ओम्नी समूहसँग भएको विवादास्पद र तीव्र आलोचित सम्झौता रद्ध भएको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुँदै बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँगको सामान खरीद सम्झौता रद्ध गरिएको बताएका हुन् ।
उनले ओम्नी समूहले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसकेको र उपलब्ध गराएका सामाग्री पनि गुणस्तरहीन भएपछि सम्झौता नै रद्ध गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरे ।
उनले पत्रकार सम्मेलनमै ओम्नीसँग सरकारले प्रचलित बजार दरभन्दा २० प्रतिशतसम्म महङ्गोमा सामान किन्न सम्झौता भएको समेत स्वीकार गरे । ‘तर, संकटका बेला समयमै सामान आउँछ भने २० प्रतिशत अतिरिक्त रकम तिर्ने भन्ने निर्णयका आधारमा यो सबै काम भएको थियो, तर सम्झौताअनुसार ओम्नीले सामान उपलब्ध गराउन सकेन ।’ श्रेष्ठले भने–‘हालसम्म ओम्नीले सम्झौतामा उल्लेख कुल सामानको १० प्रतिशत सामान मात्र ल्याएको छ । दोश्रो चरणमा अप्रील २ सम्म सामान ल्याउने भनिएको थियो, तर त्यो संभावना अब देखिएन ।’
ओम्नी समूहले नै सरकारलाई चीनबाट खरीद गरी दिएको ८ अमेरिकी डलर प्रतिगोटा दरका ७५ हजार र्यापिड टेस्ट किट नक्कली फेला परेको थियो । विभागले विश्व स्वास्थ्य संगठनले अनुमति नदिएको भन्दै यस्तो किट प्रयोग गर्न नसकिने भनी गोदाममै थन्क्याएको छ । ती किटको नेपाली मूल्य मात्रै ७ करोड २० लाख भन्दा बढी परेको छ ।
सरकारले आइतबार नेपाल एयरलाइन्सको विमान नै चार्टर गरी ओम्नी समूहले खरीद गरेको व्यक्ति सुरक्षा सामाग्री(पीपीई), टेम्पेरेचर गन, कोरोना टेस्ट किट लगायतका अत्यावश्यक स्वास्थ्य उपकरण र औषधि ल्याएको थियो । तर, त्यसरी ल्याइएका अन्य उपकरणको गुणस्तरमाथि पनि प्रश्न उब्जिएको छ ।
यसरी एकपछि अर्को गर्दै ल्याएका सामान पनि गुणस्तरहीन देखिएपछि ओम्नीले सम्झौतासँगै धरौटीको रुपमा राखेको ५ करोड रुपैयाँ सरकारले जफत गर्ने र ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय भएको समेत महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
अब स्वास्थ्य सेवा विभागले खुल्ला प्रतिस्पर्धाका आधारमा सामान खरीदका लागि बोलपत्र आह्वान गर्नेछ । बिहीबार नै इच्छुक कम्पनीहरुलाई कोटेशनका साथ उपस्थित हुन भनिएको र सामान खरीद प्रक्रिया पुनः सुरु गरी कम मूल्यमा गुणस्तरीय सामान ल्याउनसक्नेलाई ठेक्का दिइने जानकारी दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago