-राजु पौडेल
नेपालको सेयर बजारको इतिहासलाई अध्ययन गर्दा पाँच बर्षको अबधिमा एउटा बुलिस र बियरिसको चक्र बनाएको पाईन्छ । जस्तै २०६५ सालको भाद्र १५ गते ११७५ पुगेको नेप्से २०६८ साल असार १ गते झरेर २९२ मा सीमित भएको थियो । त्यसपछि बढ्दै गएर २०७३ साल श्रावण १२ गते नेप्सेले नयाँ इतिहास रच्दै १८८१ सम्म पुगेको थियो । त्यसपछि बजार घटदै आएर १२०० को वरिपरि नाचिरहेको छ । यो इतिहासलाई हेर्दा नेप्से बुलिसबाट बियरिस हुन २ वर्ष १० महिना जति लागेको रहेछ भने बियरिसबाट बुलिस हुन लगभग ५ वर्ष लागेको देखियो । यसबाट के बुझिन्छ भने जति सजिलो पहाडको ओरालो झर्न हुन्छ त्यो भन्दा गाह्रो उकालो उक्लन हुन्छ । 

यसरी इतिहासलाई केलाउँदा अहिले नेपालको सेयरबजार त्यही चक्र अनुसार  बियरिस अवस्थाबाट गुज्रिरहेको छ । बजार बिरियस अवस्थाबाट गुज्रिरहेको भएतापनि धेरै लगानीकर्तालाई लागेको थियो, यो चालु आर्थिक वर्षमा नेपालमा तीनवटा चुनाव भएपछि बजारले एउटा सकारात्मक लय लिनेछ, तर लिएन । किनकि यस अगाडिका चुनाव पछि बजार बढेको इतिहास छ । 

वेटिङ प्रधानमन्त्रीको रूपमा रहेका केपी शर्मा ओलीले विभिन्न चुनावीसभा र लगानीकर्ताहरुको भेटमा नयाँ सरकार बनेको दिन लगानीकर्ताहरुले दिपावली गरेर मिठाइ खाए हुन्छ सम्म भने। नयाँ सरकारले लिने नीतिका कारण सेयर बजार असाधारण रूपमा बढछ पनि भन्न भ्याएका थिए । ओलीको यही भनाईले धेरै लगानीकर्तालाई लागेको थियो, ओली सरकार बनेपछि सेयर बजारमा आउने छ उछाल, तर दुःखको कुरा ओली सरकार बनेको दिन बाहेक बजार निरन्तर घटिरहेको छ, अझ ओली सरकारकै अर्थमन्त्री बजारप्रति यति अनुदार भइदिए कि, उनको अभिव्यक्तिकै कारण लगानीकर्ताले करोडौं गुमाउन पुगे । 

सायद यहीकारण हुनुपर्छ अहिले लगानीकर्ता बजार गिरावट ओली सरकारका अर्थमन्त्रीका कारण भएको भन्दै चौतर्फी आक्रोश पोखिरहेका छन् । चुनावी समयमा वेटिङ प्रधानमन्त्रीले नयाँ सरकारले लिने नीतिका कारण सेयरबजार असाधारण रूपमा बढ्छ भनेकोले नीति र कार्यक्रम तथा बजेटमा नेपालको पुँजीबजारको पूर्वाधार विकासका लागि धेरै राम्रा योजना तथा कार्यक्रम आउने अपेक्षा गरिएको थियो, तर ओलीको भनाईअनुसारका कार्यक्रम र योजना न त नीति तथा कार्यक्रम आउन सके, न त बजेटमा नै आउन सके । नीति तथा कार्यक्रम र बजेट पछि त झनै बजारको गति ओराली लागेको हरिणको चाल भो भनेजस्तै भयो । आक्कलझुक्कल बाहेक बजार निरन्तर घटिरहेको छ । त्यही पनि लगानीकर्ताले आशा मारिसकेका छैनन् ।  लगानीकर्ताको अबको आशाको केन्द्र भनेको मौद्रिक नीति छ ।  लगानीकर्ता धेरै समयदेखि आशावादी भएर बसेका छन् ।

गत सालको कार्तिकमा अन्लाईन ट्रेडिङ आउँछ भन्ने आशादेखि बजेटको आशासम्म लगानीकर्ता धैर्य गरेर बसिरहेका छ्न् । अझै पनि मौद्रिक नीति बजार अनुकूल आउँछ र बजारले एउटा लय समातेर माथितिर लाग्नेछ भन्ने आशा लिएर लगानीकर्ता बसिरहेका छ्न् ।

लगानीकर्ताको यो धेरै लामो समयदेखिको आशालाई निराशा बनाउने काम मौद्रिक नीतिले नगरोस भन्ने अनुरोध आम लगानीकर्ताले गरेका छ्न् । 

अब केही दिनमा आउन लागेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीकर्ताको यो निराशालाई आशामा बदल्न निम्न लिखित कुराहरुलाई समेटिनु पर्छ:

१.मौद्रिक नीतिमार्फत शेयर धितोकर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ८० प्रतिशतसम्म बनाउने । ५० लाखसम्म शेयर कर्जा लिनेलाई धितोको ८० र अन्यलाई ६० प्रतिशत कायम गर्ने ।

२.यति सानो देशमा यति धेरै वित्तीय संघ संस्था हुनु उचित होईन, त्यसकारण बित्तीय संस्थाहरुको संख्या कम गर्न अनिवार्य बिग मर्जरको नीति आओस् । 

३.पुँजी बजारको दायरा फराकिलो बनाउन मौद्रिक नीतिमा बैंक तथा मर्चेन्ट बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने नियमको व्यवस्था गरियोस् ।

४.सेयर बजारको सबैभन्दा ठूलो शत्रु बैंकको उच्च ब्याजदर हो, त्यसकारण अहिले बैंकहरुमा देखिएको तरलता समस्या समाधान गर्दै उच्च ब्याजदरलाई कम गर्ने संयन्त्रको विकास गरियोस् । 

५.बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरुमध्ये सेयर कर्जाको औसत भारित जोखिम १५० प्रतिशत भएको हुँदा यसलाई घटाएर १०० प्रतिशतमा झारियोस्, आदि ।

मौद्रिक नीतिमा यी र यस्ता कुराहरुलाई समेटेर लगानीकर्ताहरुलाई केही राहात दिने काम होस्, तर पुराना लगानीकर्ताको भनाई अनुसार अहिले  सेयरबजारमा घटने चक्र सुरु भएको हुँदा अहिलेको घटाइ राजनीतिक भन्दा पनि चक्रीय हो  । केही समयपछि बजारमा सुधार आउनेछ ।  बाँकी जे जस्ता कुरा भए पनि यो बामपन्थी सरकारले सेयरबजारको बिकास र  बिस्तारका लागि कुनै पनि कसर बाँकी राख्नुहुँदैन ।  तीसलाख लगानीकर्तालाई खुशी पार्न र समग्र अर्थतन्त्रको विकासको लागि सेयरबजारलाई प्रविधिमैत्री, अन्तर्राष्ट्रिय स्तरको र सारा नेपालीको पहुँच पुग्ने गरी विकास गरिनु पर्दछ।
(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन् ।)