काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि निजी क्षेत्र उत्साहित बनेको छ । 

नेपाल उद्योग परिसंघले ओलीको नेतृत्वमा नयाँ सरकार बनेको र उनको नेतृत्वले मुलुकलाई आर्थिक क्रान्ति र समृद्धिको युुगमा प्रवेश गराउने भन्दै अत्यन्त उत्साहित भएको बताएको छ । 

‘देशले गर्नु पर्ने सम्पूर्ण राजनैतिक परिवर्तनहरु सम्पन्नगरि बनेको नयाँ सरकारले अब आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष्य बनाउने अपेक्षा परिसंघले लिएको छ ।’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसाथ गरी आर्थिक समृद्धिको एजेण्डालाई नै प्राथमिकतामा राख्नेछ भन्ने विश्वास छ ।’

नेपालले २०१३ सालदेखिनै योजनाबद्ध आर्थिक विकासको थालनी गरे पनि मुलुक अझै अति कम विकसित राष्ट्रहरुकै समूहमा रहेको उल्लेख गर्दै गरिवी, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर, उच्च मुद्रास्फीति, कहालीलाग्दो व्यापार घाटा, पूर्वाधारको कमजोर अवस्था र पूँजीगत खर्चको घट्दो क्रमले अर्थव्यवस्थामा संरचनात्मक समस्या देखा पर्दै आएको परिसंघको ठहर छ । 

अर्थतन्त्रका समस्यालाई सम्बोधन गर्दै यो सरकारले औद्योगिक लगानी प्रवद्र्धनको साथै रोजगारी सिर्जनामा सुनिश्चितताको वातावरण कायम गरी मुलुकमा औद्योगिक क्रान्ति, पूर्वाधार विकास तथा सुशासनको पूर्ण प्रत्याभूति दिने विश्वास समेत व्यक्त गरिएको छ । 

‘विकासको बाटोमा मुलुकलाई लग्न विकासको मार्गचित्र कोर्न सरकारसँग निजी क्षेत्र सहकार्य गर्न उत्सुक छ ।’ विज्ञप्तिमा भनिएको छ ।