काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आज आइतबारबाट एकीकृत वित्तीय कारोबारको सुरु गर्दैछ। 

कञ्चनलाई प्राप्ति गरेपश्चात एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँको भएको छ। प्राप्तिपश्चात बैंकको नाम ‘एनएमबी बैंक लिमिटेड’ नै रहनेछ भने रजिष्ट्रर्ड/मुख्य कार्यालय साविककै काठमाण्डौको बबरमहलमा रहनेछ। 

एकीकृत वित्तीय कारोबारको थालनीसँगै एनएमबी बैंकको सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुनेछ। जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच  पुर्याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसँगको सहकार्यलाई अघि बढाउन मद्दत गर्नेछ।

एनएमबी बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V.(एफएमओ), कर्मचारी सञ्चय कोषलगायतका संस्थाहरुको समेत लगानी रहेको छ। एफएमओ निदरल्यान्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवि भएको Standard & Poor’s तथा Fitch जस्ता संस्थाहरुले AAA रेटिङ गरेको निदरल्यान्ड सरकारसमेतको लगानी रहेको अन्तर्राष्ट्रिय बिकास बैंक हो।

एफएमओसँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय ऊर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पुर्याएको छ। 

एनएमबी बैंक ‘बैंक अफ द इयर’  २०१७  र २०१८ द्वारा लगातार पुरस्कृत भइसकेको छ।

एनएमबी बैंक लिमीटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडलाई १००ः८५ को सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो। कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ।