काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ मापदण्डअनुसार केवाइसी अपडेट गराउन दिएको समयसीमा सकिएको भोलिपल्ट बजारमा कारोबार रकम चौपट रुपमा घटेको छ । कतिपयले कडा केवाइसी मापदण्डले बजार घटेको र कालोधन लगाएकाहरु भागेका पो हुन कि भन्ने आशंका समेत गरिरहेका छन् । कतिपयले भने लगानीकर्ताले केवाइसी अपडेट गराउन ध्यान नदिएका कारण कारोबार रकम यति सारो घटेको बताइरहेका छन् । आखिर केवाइसीको अपडेटको अवस्था चाहि के छ त ?

स्टक ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष प्रियराज रेग्मीका अनुसार धितोपत्र बोर्डले दिएको समयसीमाभित्र सक्रिय कारोबारी(लगानीकर्ता)मध्ये करिब ८० प्रतिशतले केवाइसी अपडेट गराइसकेका छन् ।

तीमध्ये ८० प्रतिशतको हाराहारीका कारोबारीले केवाइसी अपडेट गराएका उनको भनाई छ । 

तर, अर्का एक ब्रोकर नेताले भने केवाइसी अपडेट गराउने सक्रिय भनिएका कारोबारीको संख्या ७० प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरे । 

उनले धितोपत्र बोर्डले २ महिनाअघिदेखि नै पटक-पटक निर्देशन दिएको र सोही अनुसार ब्रोकरहरुले लगानीकर्तालाई पटक-पटक जानकारी गराएका थिए, यस्तो अवस्थामा थाहा नपाएर केवाइसी अपडेट भएन भनिनु गलत रहेको टिप्पणी गरे । पटक-पटक जानकारी गराउँदा समेत समय व्यतित गरी केवाइसी अपडेट नगराउनेहरुले कालोधन पो लगानी गरिरहेका थिए कि भन्ने आशंका जन्माइदिएको दाबी समेत ती ब्रोकरले गरे । ‘यस्तो हुँदैन थियो भने उनीहरुलाई पटक पटक जानकारी दिंदा समेत केवाइसी अपडेट गराउन किन आएनन् ?’ ती ब्रोकरले भने–‘धितोपत्र बोर्डले समेत बजारमा कालोधन लगानी भएको आशंकामै केवाइसीमा कडाई गरेको थियो, बोर्ड आफ्नो मिसनमा सफल भएको छ ।’

अध्यक्ष प्रियराज रेग्मीका अनुसार लङटर्म रुपमा सेयरमा लगानी गर्ने लगानीकर्ताहरुको हकमा भने निकै कमले मात्र केवाइसी अपडेट गराएका पाइएको छ । ‘सर्टटर्म र सक्रिय कारोबारी बाहेकका लगानीकर्तामध्ये जेठ १ गतेसम्म मुश्किलले २५ प्रतिशतले मात्र केवाइसी अपडेट गराएका छन् ।’ उनले भने । 

उनले छुटेका र बजारमा आउन चाहेका नयाँ लगानीकर्ताले समेत केवाइसी अपडेट गराएपछि कारोबार गर्न पाउने भएकोले आगामी दिनमा त्यो संख्या बढ्ने दाबी गरे । ‘कारोबार नै गर्न नपाइने भएपछि सुतेर बसेकाहरु समेत जाग्लान् ।’ उनले थपे।