काठमाण्डौ । यही पुस २९ गते वार्षिक साधारणसभा डाकेका समीट लघुवित्त र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।

दुवै वित्तीय संस्थाले साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि बुधबारदेखि बुक क्लोज गरेका कारण आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

समीट लघुवित्तको सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल २२.२ प्रतिशत लाभांश पारित हुनेछ।

संस्थाले चुक्ता पुँजी रु. २१ करोडको २१.०९ हुन आउने रु. ४ करोड ४३ लाखबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि संस्थाले आफ्ना सेयरधनीहरुलाई १.११ प्रतिशतले हुन आउने रु. २३ लाख ३१ हजार ५७८.९५ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी उपयुक्त अन्य लघुवित्तसँग आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियाका लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

नेपाल सेवा लघुवित्तको सभा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको कुल २.६२ प्रतिशत लाभांश अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी ६ करोडको २.५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.१२ प्रतिशतले हुन आउने नगद लाभांश छ ।

सभामा अर्को मुख्य अजेन्डाका रुपमा सतप्रतिशत हकप्रद सेयर जारी प्रस्ताव पनि पारित हुनेछ । संस्थाले बोनस सेयर जारी भएपछि हुन आउने चुक्तापुँजी ६ करोड १५ लाख रुपैयाँबराबरको (१ः१ अनुपात) मा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।