काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। उक्त नियमावली मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र कार्यान्वयनमा आउँछ।

संशोधित नियमावलीमा सेबोनले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नियमावलीअनुसार अहिले सञ्चालनमा रहेका ब्रोकरले २ करोड रुपैयाँ रहेको चुक्तापुँजी २ वर्षभित्र १० गुणाले बढाएर २० करोड पुर्याउनुपर्नेछ। पुँजीवृद्धि गरेर २० करोड पुराउँदा ब्रोकरहरु ग्राहकको आदेशअनुरुप धितोपत्र खरिदबिक्रीका लागि योग्य हुनेछन्।

ब्रोकरहरु पूर्ण सेवा दिनलाई ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ। ६० करोड रुपैयाँ चुक्तापुँजी भएका ब्रोकरले ग्राहकको नामबाट सेयर खरिदबिक्री, मार्जिन कारोबार, लगानी परामर्श सेवाका साथै निक्षेप सदस्यसम्बन्धी काम गर्न योग्य हुनेछन्।

संशोधित नियमावलीमा स्टक डिलर अर्थात् धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी प्रस्ताव गरिएको छ। १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरहरु आफ्नै नामबाट सेयर खरिदबिक्री, धितोपत्र दलालहरुको काम, धितोपत्र प्रत्याभूतिको कामका साथै योग्य संस्थागत लगानीकर्ताको काम गर्न पनि योग्य हुनेछन्।

सेबोन सञ्चालक समितिबाट संशोधनसहितको नियमावलीको मस्यौदा पारित भएसँगै ब्रोकरहरुको रुवाबासी सुरु भएको छ। दुई वर्षको समयमा सेबोनले भने अनुरूपको २० करोड पुँजी पुर्याउन नसकिने भन्दै उनीहरुले तीव्र विरोध गर्दै आएका छन्।

नेपालमा अहिले ५० वटा ब्रोकर सञ्चालनमा छन्। ती ब्रोकरहरुले दुई वर्षको अवधिमा मात्रै कमिसनबापत १३ अर्ब ८२ करोड रुपैयाँ कमाएका छन्। 

सीडीएससी एन्ड क्लियरिंग लिमिटेडबाट प्राप्त विवरणअनुसार ब्रोकरहरुले कमिसनबापत आर्थिक वर्ष २०७७–७८ मा ७ अर्ब ९० करोड रुपैयाँ र २०७८–७९ मा ५ अर्ब ९२ करोड रुपैयाँ कमाएका छन्। 

ब्रोकरहरुको कमिसनमात्र हेर्दा पनि दुई वर्षमा पुँजी २० करोड सजिलै पुग्ने देखिन्छ। कतिपय ब्रोकरको अहिले पनि १० देखि १५ करोड रुपैयाँसम्म पुँजी भएको अवस्था छ। तर, धेरैजसो ब्रोकरहरुले आफूहरुले कमाएको पैसा संस्थागत विकासमा भन्दा पनि अन्य क्षेत्रमा लगानी गरेको देखिन्छ। 

ब्रोकर हाउसहरुको अफिसको संरचना, जनशक्ति, पूर्वाधार, टेक्नोलोजी लगायतको क्षेत्रहरुमा लगानी हेर्दा ब्रोकरहरुले संस्थाको विकासमा नाफाको न्यून हिस्सामात्र लगानी गरेको प्रस्टसँग झल्किन्छ। त्यसैले ब्रोकरहरुले कमाएको नाफा कहाँ जाँदैछ ? भन्ने नै आजको यक्ष प्रश्न हो।

ब्रोकरहरुले कमिसनबापत कमाएको अर्बौं पैसा कता लगानी भयो त? भन्ने बिजशालाको जिज्ञासामा एक ब्रोकर सञ्चालक भन्छन्, ‘अधिकांश ब्रोकरको रहनसहन हेर्दा ब्रोकरहरुको कमाइ घर जग्गा र मोजमस्तीमा नै खर्च भएको देखिन्छ। केहीले अन्य व्यवसायीमा पनि लगानी गरेका छन्। तर, धेरैजसो ब्रोकरको घरजग्गामा छुट्टै लगाव छ। त्यसैले आफूले कमिसन कमाएको पैसाले नपुगेर बैंकको ओडी पनि घर जग्गामा लगानी गर्ने ब्रोकरहरु पनि छन्।’

‘हिजो कोठा भाडामा बस्ने अधिकांश ब्रोकर सञ्चालकहरुको आज काठमाण्डौको सेन्टरमा घरजग्गा छ। वर्षमा एकपटक विदेश भ्रमणमा नगएका ब्रोकरहरु त औँलामा गन्न सकिन्छ। ब्रोकरहरुको लेटेस्ट आइफोनदेखि लिएर बीएमडब्ल्यू र मरसेडिजसम्मको शौख छ। त्यसैले ब्रोकरहरुले कमाएको पैसा कहाँ जाँदैछ भन्ने प्रस्ट छ’, ती सञ्चालकले भने। 

केही ब्रोकरहरुले भने जस्तै तपाइँहरुलाई दुई वर्षमा २० करोड रुपैयाँ पुँजी पुर्याउन सम्भव छैन त ? अर्को जिज्ञासामा ती सञ्चालक भन्छन्, ‘हामी ब्रोकरहरुको कमिसनमात्रैको अर्बौंको फिगर तपाइँले भनिसक्नुभयो। तर, ब्रोकरहरुको कमाइ कमिसनभन्दा पनि सेयर बजारमा गर्ने लगानीबाट हुन्छ। त्यसैले सम्भव छ वा छैन भन्ने तपाइँले नै निर्धारण गर्नु होला।’