काठमाण्डौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडले पुस ७ गते(आज)देखि ५ लाख ९७ हजार ३ सय ४९.८० कित्ता सेयरको लिलामी खुलाएको छ । 

यो कम्पनीले संस्थापकतर्फको ५ लाख ३० हजार २ सय ४३.१६ कित्ता र सर्वसाधारणतर्फको ६७ हजार १ सय ६.६४ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

लिलामी प्रक्रियामा सहभागी हुन चाहने इच्छुक लगानीकर्ताले पुस १६ गतेभित्र तोकिएका स्थानमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

यो कम्पनीले असोज २६ गतेदेखि कात्तिक २९ गतेसम्म हकप्रद सेयर निश्कासन गरेको थियो । सोही क्रममा सेयरधनीले खरीद नगरेको सेयर लिलामीबाट बिक्री गर्न लागिएको हो । 

संस्थापक समूहको सेयर खरीदका लागि लिलाम बिक्री खुल्ला रहेको मितिसम्म कायम संस्थापक सेयरधनीहरु मात्र योग्य हुनेछन् भने सर्वसाधारणतर्फको सेयरका लागि सबैले आवेदन दिन पाउनेछन् । 

इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोक्नैपर्नेछ भने न्यूनतम १०० कित्ताका लागि बिड गर्नुपर्ने(बोल लगाउनुपर्ने) छ । 

यो कम्पनीको सेयर लिलामी तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ । इच्छुकले एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडको लाजिम्पाटस्थित मुख्य कार्यालय, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडका मुख्य तथा शाखा कार्यालयहरुबाट बोलपत्र पेश गर्न सक्नेछन् । 

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीस्थित शाखा कार्यालयहरुबाट समेत बोलपत्र पेश गर्न सकिने सुविधा दिइएको छ ।