काठमाण्डौ । मानिसले आफ्नो र आफ्नो परिवारका हरेक आवश्यकताहरु पूरा गर्नका लागि जागिर खान्छ । तर, धेरैको गुनासो हुन्छ कि यो महंगीमा थोरै तलबले घरपरिवार धान्न नै गाह्रो भइरहेको छ । यदि हामीले पाउने तलबको प्रबन्ध राम्रो ढंगले गर्न जान्यौं भने तत्कालको आवश्यकता पूरा हुन्छ, साथै भविष्यका लागि समेत आफूलाई बित्तीय रुपमा दरिलो बनाउन सकिन्छ । 

फाइनान्सियल योजनाकार तारेश भाटियाका अनुसार तलबमा जीवन चलाइरहेका मानिसहरुले ५ काम गर्ने हो भने उसको जीवन निकै हदसम्म आर्थिक रुपमा सुरक्षित हुन्छ । 

टर्म इन्स्योरेन्स प्लान
बित्तीय व्यवस्थापनमा दिग्गज विज्ञहरुले कुनै पनि तलबी व्यक्तिले आफ्नो तथा परिवारको भविष्य सुरक्षित गर्न छोटा अवधिका बिमा योजनाहरुमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । यस्ता प्लानहरुले कुनै आर्थिक संकट आइहाल्यो भने पनि परिवारलाई ठूलो साहारा प्राप्त हुन्छ । तपाईं ध्यान दिनुहोस् कि बिमा कम्पनीहरुबाट नै यस्ता टर्म प्लान खरीद गर्न सकिनेछ । 

आकस्मिक कोष
तपाईंले आफ्नो साबिकको मासिक आम्दानीलाई तीनले गुणन गरी जति राशि निस्कन्छ त्यति नै रकमको आकस्मिक फण्ड बनाउनुपर्छ । यस्तो आकस्मिक फण्ड बचत खातामा राख्न सक्नुहुनेछ । कुनै पनि आपतकालीन अवस्थामा यस्तो कोष(फण्ड) तपाईलाई काम लाग्नेछ । 

स्वास्थ्य बिमा
यसपछि तपाईंले यस्तो आँकलन गर्नुपर्छ कि तपाईं आफ्नो र परिवारका लागि कतिसम्मको स्वास्थ्य बिमाको कभर लिनुपर्ला । तपाईंले यस्तो आँकलन आफैंले गर्न सक्नुहुन्छ । यसबाट तपाईंले स्वयम् आफ्नो र आफ्नो परिवारमा आइपर्ने कुनै पनि मेडिकल इमेरजेन्सीलाई सुरक्षित गर्न सक्नुहुन्छ, अथवा टार्न सहज हुनेछ । 

रिटायरमेन्ट योजना
त्यसपछि तपाईंले आँकलन गर्नुपर्ने हुन्छ कि तपाईंको जागिरपछिको समयमा आउने सञ्चयकोष, उपदान र पेन्सनले तपाईको ६० देखि ८० वर्षको बीचको उमेरका सबै आवश्यकता पूरा गर्ने ल्याकत राख्ला ? यदि त्यो रकम रिटायरमेन्टका लागि पर्याप्त हुँदैन जस्तो लाग्छ भने तपाईंले रिटायरमेन्टका लागि भए पनि सानो–सानो रकम जम्मा गर्ने खालको छुट्टै फण्ड बेलैदेखि विकास गर्नुपर्ने हुन्छ । 

बालबच्चाको शिक्षाका लागि योजना
यदि तपाईं विवाहित हो र बालबच्चा पनि छन् भने उनीहरुको पढाईका लागि समेत तपाईंले बेलैदेखि योजना बनाउनुपर्ने हुन्छ । यसका लागि तपाईंले सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लानिङ वा बालबच्चाको पढाईका लागि ज्यादा पैसा चाहिने बेलासम्मका लागि उपयुक्त हुने अन्य कुनै फाइनान्सियल प्लानिङको बिषयमा सोच्न सक्नुहुनेछ । बैंक तथा बित्तीय संस्थाहरुले यस्ता खाता संचालन गरेका छन् । कतिपयले शैक्षिक बिमाको समेत साहारा लिएर बालबच्चाको शिक्षालाई बेलैदेखि सुरक्षित गरेका हुन्छन् । तपाईले आफ्ना बच्चा १८ देखि २१ वर्षको उमेरमा पुगेपछि उनीहरुको शिक्षाका लागि त्यस समयमा कतिसम्म खर्च जोहो गर्दा सही होला भनेर आँकलन गरेर सोही अनुसार अगाडि बढ्दा राम्रो हुने देखिन्छ ।