– मनिष सोती

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ। दोस्रो बजारमा भर्खरै छिरेका लगानीकर्तामा कुन कम्पनीको सेयरमा लगानी गर्ने भन्ने जिज्ञासा हुन सक्छ। 

विशेषगरी अनुभवी लगानीकर्ताले बैंक, बीमा, हाइड्रोपावर र होटेल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानी गरिरहेका हुन्छन्। दोस्रो बजारमा भर्खरै छिरेका लगानीकर्तामा भने कुन कम्पनीको सेयर किन्ने र जोखिम कम भएका कम्पनीहरु कुन–कुन हुन सक्छन् भन्नेमा अन्यौलता हुन सक्छ। सेयरमा लगानी गर्नुअघि कम्पनीको वित्तीय विवरण बुझ्नु अपरिहार्य हुन्छ। 

दोस्रो बजारमा छिरेका लगानीकर्ताले धितोपत्रमा लगानी गर्नुअघि कम्पनीको महत्वपूर्ण वित्तीय सूचकका आधारमा र कम्पनीको जोखिमांकन मूल्यांकन तथा कम्पनीले दिँदै आइरहेको लाभांशका आधारमा कम्पनी छान्नु उपयुक्त मानिन्छ। कम्पनीहरुको प्रमुख वित्तीय सूचकका आधारमा मात्रै सेयरमा लगानी गर्ने, पर्खने वा झिक्ने भन्नेबारे निर्णय गर्न सकिन्छ। सेयर विज्ञहरुका अनुसार कम्पनीको वित्तीय विवरण राम्ररी बुझेरमात्रै लगानी गर्नु उपयुक्त हुन्छ। 

कम्पनीले कति लाभांश दिन सक्छ ? कम्पनीमा के–कस्ता जोखिम बढेका छन् ? कम्पनीको बजारभाउ कतातिर जाँदैछ जस्ता यावत विषय बुझ्न आवश्यक छ। केही समययता बीमा कम्पनीहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढिरहेको छ। 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि बोनस वा हकप्रद जारी गर्न दिने निर्णयले पनि बीमा कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ। 

यसैबीच जीवन बीमा कम्पनीहरुमध्ये सेयर बजारमा कम सेयरभाउ रहेका सूर्यज्योति लाइफ, नेसनल लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ र आईएमई लाइफ गरी ५ जीवन बीमा कम्पनीको हामीले तुलनात्मक अध्ययन गर्न प्रयास गरेका छौँ। सोमध्ये लगानीकर्ताले कुन कम्पनीको सेयर किन्दा बढी फाइदा हुन सक्छ भन्ने हामीले तुलनात्मक प्रक्षेपित अध्ययन गरेका छौँ। 

ईपीएसका आधारमा 

धितोपत्र दोस्रो बजारमा सेयरमा लगानी गर्नेका लागि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) महत्वपूर्ण सूचक मानिन्छ। लगानी गर्नुअघि कम्पीको ईपीएस कति छ बुझ्नु आवश्यक हुन्छ। कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै ईपीएस हो। लगानीकर्ताले ईपीएसकै आधारमा कम्पनीले दिन सक्ने लाभांशसमेत अनुमान लगाउन सक्छन्।  

यसका साथै दोस्रो बजारमा धेरै ईपीएस भएको कम्पनीले धेरै लाभांश दिन सक्ने क्षमतालाई समेत जनाउँदछ। गत आर्थिक वर्षको रिपोर्टअनुसार सबैभन्दा बढी ईपीएस सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२३ रुपैयाँ रहेको छ भने सबैभन्दा कम आईएमई लाइफको ६.०२ रुपैयाँ रहेको छ। 

नेटवर्थका आधारमा 

प्रतिसेयर नेटवर्थ पनि सेयरमा लगानी गर्नका लागि जान्नैपर्ने महत्वपूर्ण सूचक हो। नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन भन्ने मूल्यांकन गर्न सकिन्छ। नेटवर्थको वृद्धिदरले कम्पनीको विभिन्न दायित्व जोखिम घटिरहेको छ भन्ने देखाउँछ। यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ। 

गत आर्थिक वर्षको रिपोर्टअनुसार सबैभन्दा धेरै नेटवर्थ आईएमई लाइफको १७१.०५ रुपैयाँ रहेको छ भने सबैभन्दा कम नेसनल लाइपको ११७.४८ रुपैयाँ रहेको छ। 

पीई रेसियोका आधारमा 

दोस्रो बजारमा छिरेका लगानीकर्ताका लागि सेयरमा लगानी गर्नुअघि कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचक पनि महत्वपूर्ण मानिन्छ। कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैैयाँ तिरिरहेका छन् भन्ने यो सूचकले देखाउँछ। यसको हिसाब गर्दा सेयर बजारमा कारोबार हुँदा कायम भएको पछिल्लो मूल्यलाई लिइन्छ। 

यो मूल्यलाई ईपीएसले भाग गरेर निकालिन्छ। कम्पनीको पीई रेसियो १८ देखि २५ गुणा हाराहारीमा भएको राम्रो मानिन्छ। जति बढी पीई रेसियो उति नै बढी जोखिम हुन सक्ने सेयर विज्ञहरु बताउँछन्। 

सबैभन्दा बढी पीई रेसियो शिखर इन्स्योरेन्सको नेसनल लाइफको ८८.७२ गुणा रहेको छ भने सबैभन्दा थोरै सुर्यज्योति लाइफको ६०.२३ गुणा रहेको छ। सेयर विज्ञहरुका अनुसार जुन कम्पनीको पीई रेसियो कम हुन्छ, त्यो कम्पनीको सेयर किन्दा उत्तम मानिनेछ। 

प्रतिसेयर कुल सम्पत्तिको मूल्यका आधारमा 

बीमा कम्पनीहरुले वित्तीय रिपोर्टमा प्रतिसेयर कुल सम्पत्तिको मूल्य सूचक पनि छुट्याएको हुन्छ। लगानीकर्ताका लागि सेयर खरिदमा यो पनि एउटा प्रमुख सूचक मान्न सकिन्छ। कम्पनीको प्रतिसेयर कुल सम्पत्ति के–कति रहेको छ ? त्यसैका आधारमा जोखिमांकन मापन गर्न सकिन्छ।

दोस्रो बजारमा कम्पनीहरुले प्रतिसेयरबाट आम्दानी गरी सम्पत्ति संकलन गरेका हुन्छन्। जति धेरै प्रतिसेयर कुल सम्पत्तिको मूल्य उति नै जोखिमांकन तथा सेयरभाउमा उतारचढाव नहुने बुझ्न सकिन्छ। 

सबैभन्दा बढी यस्तो मूल्य नेसनल लाइफको १४०६.८७ रुपैयाँ रहेको छ। नेसनल लाइफको सेयर दोस्रो बजारमा अन्य कम्पनीको भन्दा अगाडि नै सूचीकृत भएका कारण पनि यस्तो मूल्य बढी देखिएको हो। 

खुद नाफाका आधारमा 

खुद नाफा पनि लगानीका लागि महत्वपूर्ण सूचक हो। सेयरमा लगानी गर्नुअघि कम्पनीले बर्सेनि कति मुनाफा आर्जन गर्यो, त्यो बुझ्नु आवश्यक हुन्छ। यदि कम्पनीहरु घाटामा छन् भने कम्पनीको जोखिम उत्तिकै सिर्जना हुने सम्भावना रहन्छ। यसका साथै कम्पनीहरुले वर्षैपिच्छे दिने लाभांशसमेत खुद नाफाकै आधारमा आश्रित हुन्छ। 

लगानीकर्ताले कुनै कम्पनीमा लगानी गर्नुअघि कम्पनीले कति नाफा कमाएको छ, त्यो बुझ्नु आवश्यक हुन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी मुनाफा कमाउनेमा हिमालयन लाइफ रहेको छ। कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ। साबिक गुराँस, प्राइम र युनियन लाइफ तीन कम्पनी आपसमा गाभिएका कारण पनि यो कम्पनीको मुनाफा बढी हुन पुगेको हो। 

चुक्तापुँजीका आधारमा 

सेयरमा लगानी गर्नुअघि कम्पनीको चुक्तापुँजी (पेड अप क्यापिटल) कति छ, त्यो बुझ्नु आवश्यक छ। धितोपत्र दोस्रो बजारमा पुँजीले पनि सेयरभाउमा प्रभावित पार्ने हुन्छ। जति धेरै चुक्तापुँजी सेयर बजारमा उति नै कम्पनीको सेयरभाउ घट्ने सम्भावना हुन्छ। 

दोस्रो बजारमा कम्पनीको सेयर कित्ता संख्या धेरै हुन जाँदा त्यहाँ डिमान्डभन्दा पनि बढी सप्लाई हुन जान्छ। अर्थशास्त्रको सूत्रअनुसार जति धेरै माग बढ्छ उति धेरै मूल्य बढ्छ। यसैका आधारमा पनि दोस्रो बजारमा कम चुक्तापुँजी भएका कम्पनीहरुको सेयरभाउ बढी हुने गरेको छ। 

गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा थोरै पुँजी आइएमई लाइफको ४ अर्ब हाराहारीमा रहेको छ। पछिल्लो समय दोस्रो बजारमा आईएमई लाइफको सेयर सर्वाधिक खरिद–बिक्री हुने कम्पनीको लिस्टमा पर्ने गरेको छ। 

हालको सेयरभाउ र अधिकतम मूल्य 

लगानीकर्ताले सेयरमा लगानी गर्नका लागि कम्पनीको अन्तिम कारोबार सेयरभाउ (एलटीपी) कति छ र कतिसम्म कम्पनीको सेयरभाउ बढेको छ, त्यो बुझ्नुपर्दछ। यदि कम्पनीको सेयरभाउ निरन्तर ओरालो लागेको छ भने कम्पनीको अन्य सूचकका कारण कम्पनीको सेयरभाउ घटिरहेको बुझ्न सकिन्छ। यदि सेयरभाउ घटबढ प्रक्रियामा अडिरहेको छ भने त्यस्तो कम्पनीको जोखिम कम हुने गर्दछ। तर, टेक्निकल पार्ट हेर्ने लगानीकर्ताले कम्पनीको एलटीपी र अधिकतम मूल्य कतिसम्म रहेको छ, त्यो बुझे मात्रै लगानी गर्दछन्। आफूले गरेको लगानीले कतिसम्म प्रोफिट अर्न गर्न सक्छ, त्यो बुझेरमात्रै लगानी गर्दा उचित हुन्छ। यसका साथै कम्पनीको हालको सेयरभाउ र अधिकतम सेयरभाउ कति पुगेको त्यसको लेखांकन गरेरमात्रै लगानी गर्नुपर्छ। 

एलटीपीअनुसार सबैभन्दा बढी सेयरभाउ नेसनल लाइफको ५७५ रुपैयाँ रहेको छ भने कम्पनीको अधिकतम कारोबार मूल्य ७०५ रुपैयाँ रहेको छ। 

खुद बीमाशुल्क आर्जनका आधारमा 

बीमा कम्पनीहरुको मुख्य व्यवसाय भनेको नै प्रिमियम कलेक्सन हो। बीमाशुल्क आर्जनको आधारमा कम्पनीहरुले कलेक्सन प्रिमियम रकम विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन्। कम्पनीले जति धेरै प्रिमियम कलेक्सन गर्यो उति नै धेरै लगानीको दायरा बढाउँदै जाने गर्दछ। 

लगानीकर्तारुले कम्पनीहरुमा लगानी गर्नुअघि कम्पनीको मुख्य व्यवसाय के हो ? व्यवसायको आकार कसरी बढाइरहेको छ र त्यसबाट सेयरधनीसमक्ष प्रतिफल कसरी आइपुग्छ ? त्यो बुझ्न जरुरी छ। बीमा कम्पनीले प्रिमियम कलेक्सन गरी उक्त रकम बैंकको मुद्दती निक्षेप, जग्गा जमिनमा लगानी तथा बीमालेख धितो कर्जा वितरण गरी लगानी बढाइरहेका हुन्छन्। 

जति धेरै लगानी उति धेरै प्रोफिट हुन सक्ने सम्भावना रहन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ९७ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। 

वितरित अधिकतम बोनसका आधारमा 

लगानीकर्ताले सेयरमा लगानी गर्नुअघि कम्पनीहरुले विगतमा दिनहरुमा कति प्रतिशतसम्म लाभांश बाँडिरहेको छ ? त्यो पनि बुझ्न आवश्यक हुन्छ। दोस्रो बजारमा विशेषतः अल्पकालीन र दीर्घकालीन गरी दुईथरिका लगानीकर्ता छन्। दीर्घकालीन लगानीकर्ताले विशेषगरी कम्पनीको लाभांश क्षमतालाई नियालेका हुन्छन्। 

कम्पनीले कतिसम्म बोनस सेयर दिन सक्छ ? त्यो अनुमान लगाएर लगानी गरेका हुन्छन्। सेयर बजारमा कम सेयरभाउ भएका ५ जीवन बीमा कम्पनीमध्ये ३ वटा कम्पनी मर्ज भएका छन्। साबिकका कम्पनीहरुले विगतमा वर्षहरुमा सेयरधनीलाई खासै चित्तबुझ्दो बोनस भने बाँडेका छैनन्। तीमध्ये पनि सूर्यज्योति (साबिक सूर्य र ज्योति)ले ओभरलमा चित्त बुझ्दो बोनस बाँडेका थिए। बोनस हिस्ट्री हेर्ने हो भने सबैभन्दा बढी नेसनल लाइफले ३० प्रतिशतसम्म बोनस बाँडेको छ।

नोटः हामीले यो अध्ययन गत आर्थिक वर्षको रिपोर्टका आधारमा गरेका हौँ। लगानीकर्ताले लगानी गर्नुअघि कम्पनीको विश्लेषण तथा तर्जुमा गरी आफैँ गरी लगानी गर्दा उचित हुनेछ।