काठमाण्डौ । सेयर बजारमा मंगलबार भारी अंकले ओरालो लागेको छ। 

बजार आज ५३.१६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८८८.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.७२ अंकले घटेर ३६०.७१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढी भएको हो। 

बजार जानकार सूर्यनारायण पौडेल हिजो पेस गरिएको आगामी आर्थिक वर्षको बजेटमा पुँजीबजारसँग सम्बन्धित व्यवस्थामा केही अस्पष्टता हुँदा आज बजार घटेको बताउँछन्। ‘आज बजारमा बिक्री दबाब परेको छ’, उनले भने। 

बजेट समयानुकूल नै रहेको पौडेलको भनाइ छ। ‘लगानीकर्ताले तिर्ने ब्याजको रकमलाई खर्चमा राख्न पाइने व्यवस्था गरिएको छ, जुन लगानीकर्ताको हितमा छ’, उनले भने। 

लगानीकर्तामा बजेटलाई लिएर केही अन्यौलता देखिएको यसबारे सरकारले प्रस्ट पार्नुपर्ने पौडेल बताउँछन्। 

सरस्वती क्याम्पसका एमबीए संकायका प्रमुख केपी पाण्डे पनि करका विषयमा लगानीकर्ताबीच अन्यौलता सिर्जना हुँदा बजार प्रभावित भएको बताउँछन्। ‘पुँजीगत लाभकरमा टीडीएस काटिने भएकोले लगानीकर्ताले अतिरिक्त कर तिर्नुपर्दैन’, उनले भने, ‘तर, हरेक लगानीकर्ताले करको विवरण भने बुझाउनुपर्छ।’ 

दोस्रो बजारमा जति आर्जन गरे पनि पुँजीगत लाभकरबाहेक अतिरिक्त कर तिर्नु नपर्ने पाण्डेको भनाइ छ। ‘करका विषयमा लगानीकर्ताहरुबीच अन्यौलता देखिन्छ’, उनले भने, ‘तर, आत्तिहाल्नुपर्ने अवस्था छैन। लगानीकर्ताहरु यस विषयमा स्पष्ट भएपछि बजार आफ्नो लयमा फर्किन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक ३.५० प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ३.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा २.४२ प्रतिशत, विकास बैंक समूहमा २.२८ प्रतिशत, वित्त समूहमा २.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.५१ प्रतिशत, जलविद्युत समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४२ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१४ प्रतिशत, अन्य समूहमा ३.२८ प्रतिशत र व्यापार समूहमा २.९५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका ७० लाख ७४ हजार २५५ कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४.६१ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक २१ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको १० करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख रुपैयाँ, निफ्राको ५ करोड ९७ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड ८४ लाख रुपैयाँ, नागरिक लगानी कोषको ५ करोड ४६ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ३७ लाख रुपैयाँ, एभरेस्ट बैंकको ५ करोड रुपैयाँ हिमालयन डिस्टिलरीको ४ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

आज श्वेत–गंगा हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेको छ। 

यो दिन आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। आत्मनिर्भर लघुवित्तको सेयरभाउमा १० प्रतिशत र बीपीडब्लू लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।