काठमाण्डौ । सेयर बजारमा आइतबार हरियाली छाएको छ।

सरकारले पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम कर कायम गरेसँगै लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा उछाल आएको हो। आज बजार ५३.०३ अंकले बढेर १९१९.३७ को विन्दुले उकालो लागेको छ। राम्रा तथा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.४९ अंकले बढेर ३६५.१० को विन्दुमा पुगेको छ। कारोबार १ अर्ब ६५ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल लगानीकर्ता र सरकारबीच करको विषयमा भएको सहमतिले बजार बढेको बताउँछन्। ‘अहिले बजार बुलिस ट्रेन्डमा हिँड्यो भन्न अहिले हतार हुन्छ’, उनले भने, ‘अब आउने मौद्रिक नीतिले जोखिम भार घटाउने र १२ करोडको सीमा हटाउने हो भने बजारको १८३५ नै न्यून विन्दु हो भन्न सकिन्छ।’

अब ब्याजदर घट्दै विषय बजारका लागि सकारात्मक पनि रहेको उल्लेख गर्दै रिजालले भने, ‘यद्यपि असार मसान्तको प्रभाव पनि बजारमा पर्न सक्छ।’

अर्का बजार जानकार दामोदर गजुरेल करका विषयमा लगानीकर्ताको अन्यौलता हटेपछि बजार बढेको बताउँछन्। ‘लगानीकर्ता दोधार हुँदा बजार घटेको थियो’, उनले भने, ‘त्यो अन्यौलता अब हटेको छ।’

अब ब्याजदर घट्दै जाने र म्युचुअल फन्डहरुले पनि खरिद बढाउँदै गरेकोले बजार बढ्ने सम्भावना ररहेको गजुरेलले बताए। ‘प्राविधिक रुपमा पनि बजार न्यून विन्दुमै रहेको छ र अहिलेको बढोत्तरी २१०० सम्म जान सक्ने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ७.३७ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४.५४ प्रतिशतले बढ्दा जलविद्युत समूहमा ३.९३ प्रतिशत, बैंकिङ समूहमा १.४५ प्रतिशत, विकास बैंक समूहमा ३.४७ प्रतिशत, वित्त समूहमा ३.४४ प्रतिशत, लगानी समूहमा २.५१ प्रतिशत, जीवन बीमा समूहमा ३.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.३० प्रतिशत, लघुवित्त समूहमा २.६० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७६ प्रतिशत, अन्य समूहमा ३.२० प्रतिशत र व्यापार समूहमा ३.८४ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका ४५ लाख ५७ हजार १६९ कम्पनीका १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१.५७ रुपैयाँको कारोबार भएको छ। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ८ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको आज चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड २१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड २५ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ३ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड २७ लाख रुपैयाँ, निफ्राको ३ करोड २१ लाख रुपैयाँ र जोशी हाइड्रोपावरको ३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशत तथा सामुदायिक लघुवित्त, सोल्टी होटेल र तारागाउँ रिजेन्सी होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। महुली लघुवित्तको सेयरभाउमा ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुविको सेयरभाउ १ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।