काठमाण्डौ । आईपीओ बिक्री गरेको करिब ३ वर्षपछि समाज लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आउने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मर्जर प्रयोजनका लागि रोकेका समाज लघुवित्तको सेयर आज फुकुवा गर्ने निर्णय गरेको छ। योसँगै समाज लघुवित्तको सेयर आउँदो आइतबारबाट आउने भएको छ। 

नेपाल राष्ट्र बैंकले नेप्सेलाई समाज लघुवित्तको आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयर कारोबार खोलिदिन पत्र लेखेको थियो। सोही पत्रबमोजिम नेप्सेले समाज लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। 

समाज लघुवित्तको आईपीओ २०७७ साल असोज ८ गते नेप्सेमा सूचीकृत भएको थियो। तर, नेप्सेमा सूचीकृत हुनुअगावै असोज ५ गते समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

मर्जरमा जाने भएपछि नेप्सेले समाज लघुवित्तको सेयर कारोबारमा आउनुअघि नै रोक्का गरेको थियो। तर, स्वस्तिकसँगको डिमर्ज भएपछि राष्ट्र बैंकले सेयर कारोबार फुकुवा गरिदिन नेप्सेलाई सिफारिस गरेको थियो। 

नेप्सेमा यो लघुवित्तको १०० रुपैयाँ अंकित दरका कुल २ लाख कित्ता सेयर सूचीकृत भएको छ। 

नेप्सेले यो लघुवित्तलाई ‘एसएएमएजे’ कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६७.१४ रुपैयाँदेखि २०१.४२ रुपैयाँ कारोबार संकेत प्रदान गरेको छ।