काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ। तर, कारोबार रकम ह्वात्तै बढेर झन्डै ७ अर्ब रुपैयाँ भएर नयाँ कीर्तिमान कायम भएको छ।

आज नेप्से परिसूचक ४.६९ अंकको बढोत्तरीका साथ १७८२.८१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २ अंकले उकालो लाग्दै ३४५.०७ को उचाइमा पुगेको छ।
आज सुरुआती सत्रमा परिसूचकले १८०० विन्दु पार गरे पनि बजार पुनः घटेर १७८२.८१ मा सीमित बन्न पुगेको हो। 

इन्ट्रा डे करेक्सनको बेजोड प्रस्तुति देख्न पाइएको यो दिन विगत धेरै दिनदेखि परिसूचक उकालो लागेर सेयर किन्न छुटेकालाई समेत निकै सहयोगी भयो। परिसूचक निरन्तर उकालो लाग्दै गर्दा यसअघि नै सेयर बिक्री गरी बजार करेक्सनको पर्खाइमा रहेका लगानीकर्तालाई भने राम्रो अवसर प्राप्त भएको र यही कारणसमेत कारोबार रकमले छलाङ मारेको विश्लेषकहरुको भनाइ छ।

बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर ब्याजदर घटाउँदै लैजाँदा लगानीकर्ताको मनोबल बढ्दो छ। बजारले अलटाइम हाई १८८१ विन्दुलाई ब्रेक गर्छ भन्ने मनोबलले समेत पछिल्लो समय काम गरेको जानकार बताउँछन्। 

पछिल्लो समय निरन्तर नेप्से परिसूचक उकालो लागिरहेका बेला आज एकैदिन बजारले सकारात्मक र नकारात्मक दिशा तय गर्दै इन्ट्रा डे करेक्सन भएकाले पनि आगामी दिन बजारमा बढोत्तरीको ट्रेन्ड नै हावी हुने विश्लेषकहरु दाबी गर्छन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ।

यो दिन बैंकिङ समूहमा सर्वाधिक २९.४४ अंकको बढोत्तरी भएको छ। विकास बैंक समूह १३.४६ अंकले उकालो लागेको आज अन्य समूह १.३५ अंकले बढेको छ।

आज जीवन बीमा समूह सर्वाधिक २७८.८१ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २४३.१४ अंकले घटेको यो दिन व्यापार समूहमा १२४.७७ अंक, होटेल्स् समूहमा ८४.४९ अंक, जलविद्युत् समूहमा २१.४३ अंक, वित्त समूहमा ४.१७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८९.२९ अंक, लघुवित्त समूहमा ४.८८ अंक र म्युचुअल फन्ड समूहमा ०.२७ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृत २०१ कम्पनीका १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५७ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको आज नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २६ करोड ५३ लाख रुपैयाँ, नेपाल बैंकको २२ करोड ९८ लाख रुपैयाँ, प्रभु बैंकको २२ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ५७ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २१ करोड ३८ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २० करोड ७३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १७ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सिटिजन्स म्युचुअल फन्ड २ को इकाइमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन जानकी फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यो दिन माउन्टेन हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।