काठमाण्डौ । बजार बुम भएर दगुरेको भोलिपल्ट सोमबार नेप्सेमा सामान्य करेक्सन आएको छ । बैंकिङ समूह, निर्जीवन बिमा समूह लगायतमा बिक्री चाप बढेसँगै नेप्सेमा ४.२१ अंकको करेक्सन आएको हो । 

बजार बढेको बेला नाफा बुक गर्ने सर्टटर्म कारोबारीका कारण यो दिन बजारमा करेक्सन आएको हो । 

नेप्सेमा सामान्य करेक्सन आए पनि हिजोदेखि तीव्र रुपमा बढिरहेको जीवन बिमा समूहको सूचक यो दिन पनि दोहोरो अंकले नै बढ्यो । 

जीवन बिमा समूह १३०.७२ अंक(१.८८ प्रतिशत)ले बढेको यो दिन होटल समूहमा ७.३९, व्यापार समूहमा ५.४९, उत्पादनमूलक ९.७३ र अन्य समूह ३.३२ अंकले बढे । 

बैंकिङ समूह ७.८ अंकले घटेको यो दिन विकास बैंक समूहमा १४.३६ अंकको गिरावट आयो भने जलविद्युत समूह १.५ अंक, बित्त समूह ३.५३ अंक, निर्जीवन बिमा समूह १०२.४३ अंक र माइक्रोफाइनान्स समूह ५.६२ अंकले घटे ।

राम्रा कम्पनीमा बिक्री चाप बढेका कारण सेन्सेटिभ इण्डेक्स १.०१ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३७ अंकको गिरावट आयो ।

धेरै कारोबार गर्ने कम्पनी
नेप्सेमा सामान्य अंकको करेक्सनसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । तर, बजारमा १७४ कम्पनीका ३० लाख १६ हजार ४८० कित्ता सेयर १ अर्ब १९ करोड ७७ लाख ६९ हजार ८ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १४ करोड ६९ लाख बढीको कारोबार गरेको छ । ४८.५ प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहित यो कम्पनीले आह्वान गरेको साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति आउनै लागेका कारण कम्पनीको कारोबार ह्वात्तै बढेको हो । 

नेपाल बैंकले ११ करोड २९ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले ३ करोड ८७ लाख, नेको इन्स्योरेन्सले ३ करोड ३२ लाख, एनआइसी एशियाले ३ करोड ९ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ३ करोड ८ लाख, एनएमबी बैंकले २ करो ९६ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ८२ लाख, सानिमा बैंकले २ करोड ४२ लाख, सिद्धार्थ बैंकले २ करोड ३९ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइबिएल प्रगति फण्डका इकाईधनीले धेरै कमाए । यो स्किमको इकाई मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य ५.५२ प्रतिशतले बढेको छ । 

यो दिन रादी विद्युत कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ७.५१ प्रतिशतले घट्यो ।