– भक्तराज रसाइली

काठमाण्डौ। करोडौँ कमिसन असुल गर्ने स्टक ब्रोकरहरुले डेटा सेन्टर र आईटी सपोर्टको भुक्तानी भने दिएका छैनन्।

स्टक ब्रोकरहरुले चलाइरहेका टीएमएसको सपोर्ट शुल्क र डेटा हबको शुल्क नतिरहेको स्रोतको भनाइ छ। स्टक ब्रोकरहरुको टीएमएसमा आईटी सपोर्टका लागि वाइको प्रालिलाई कुनै पनि ब्रोकरले भुक्तानी हालसम्म गरेका छैनन्। 

यस्तै ब्रोकरहरुले आफ्नो डेटा सेन्टर नराखेपछि डेटा हबमा डेटा सेन्टर सुरक्षित गर्न मासिक भाडासमेत तिरेका छैनन्।

ब्रोकरहरुका अनुसार वाइको प्रालिलाई टीएमएस सपोर्ट र डेटा सेन्टरको मासिक शुल्क भ्याटसहित ५० हजार तिर्नुपर्ने हुन्छ। तर आजसम्म पनि करोडौँ कमिसन आम्दानी गरिरहेका ब्रोकरहरुले विगत एक वर्षदेखि उक्त रकम भुक्तानी नगरेको स्रोतको दाबीसमेत छ। ५० जना ब्रोकरले नै उधारोमा चलाइरहेको स्रोत बताउँछ। ३ महिनादेखि १.५ वर्षसम्म नै उधारो ब्रोकरहरुले तिर्न अटेरी गरेको स्रोतको भनाइ छ।

उसो त केही हजार रुपैयाँमात्र लगानी गर्न हिच्किचाइरहेका ब्रोकरहरुको अब आईटीमा लगानी गर्दा ५ गुणा बढी रकम खर्चिनुपर्ने भएपछि रोइलो सुरु भएको छ। एकाध ब्रोकरले आईटीमा लगानी गर्न इच्छुक भइरहँदा अधिकांश ब्रोकरले भने अब नेप्सेको अनलाइन प्रणालीअनुसार सिस्टम बनाउन र आफ्नै डेटा सेन्टर राख्नसमेत आनाकानी गरिरहेका देखिन्छन्। बिजशालाले एक ब्रोकरलाई यस विषयमा जिज्ञासा राख्दा सेयर खरिदबिक्रीमा मात्र किन आइटीमा लगानी ओइराउनु भन्दै प्रश्न तेर्साए।

नेप्सेले यही साता आईटीको रिसोर्स पूरा गर्न ब्रोकरहरुलाई कडा निर्देशन नै दिएको छ। स्रोतका अनुसार ब्रोकरले रिसोर्स पूरा नगरेको खण्डमा अर्को महिनादेखि भने नेप्सेले ब्रोकरलाई कारोबार निलम्बन गर्ने कठिन निर्णय गर्दैछ।

नियामक निकायहरु प्रविधिमा आधारित सेयर कारोबार गर्न तम्सिरहँदा पछिल्लो समय ब्रोकरहरुकै अवरोधका कारणसमेत आम लगानीकर्ताले गुणस्तरीय सेवा पाइनरहेको व्यापक गुनासो छ।

ब्रोकर कमिसनबाट करोडौँ आम्दानी गरिरहेका ब्रोकरहरु केही लाख रुपैयाँ आईटीमा लगानी गर्न खुट्टा कमाइरहनु पुँजी बजारलाई थप १० वर्षपछि धकेल्ने प्रयास भएको जानकार बताउँछन्।

ब्रोकरहरुले आईटीमा लगानी गर्दा कम कर्मचारीबाटै पनि गुणस्तरीय सेवा दिन सकिने र प्रविधिले कारोबार भोल्यूममा समेत उछाल आई आम्दानी (ब्रोकर कमिसन) बढ्न सक्ने हुँदा यसतर्फ ध्यान जान जरुरी छ।

यस विषयमा बुझ्न प्रयास गर्दा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट र कोषाध्यक्ष गुणनिधि भुसाल सम्पर्कमा आउन चाहेनन्।