काठमाण्डौ । राष्ट्रवादी केन्द्र नेपालले कर्जाको ब्याजदर ६ गर्न सरकारसँग माग गरेको छ।

संगठनले एक विज्ञप्ति जारी गर्दै वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका ६ बुँदे माग सरकारसामु अघि सार्दै विभिन्न आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। यसका साथै कालोसूची तथा लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरुलाई समय थप गरी पेसा तथा व्यवसाय सञ्चालनको वातावरण तया गर्नुपर्ने माग पनि संगठनले अगाडि सारेको छ। 

यातायात क्षेत्र, उद्योग–व्यवसाय क्षेत्रमा सरकारद्वारा आर्थिक तथा व्यावसायिक रुपमा गरिएका सम्पूर्ण ज्यादतीहरुको अन्त्य गर्न पनि माग गरिएको छ। किसान, श्रमिक, युवा, विद्यार्थी, सुकुमबासी, स्थानीय जनसमुदायका आधारभूत आवश्यकता पूरा गर्न, प्रदेश सरकार खारेज गर्न, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्न र शिक्षा, तथा स्वास्थ्य सेवा निःशुल्क, रोजगारीको प्रत्याभूतिसहित महँगी र भ्रष्टाचार अन्त्य गर्न संगठनले माग गरेको छ। 

यसैगरी राष्ट्रवादी केन्द्र नेपालको नेतृत्वमा भ्रातृ संगठनहरु राष्ट्रवादी यातायात व्यवसायी महासंघ र राष्ट्रवादी उद्योगी–व्यवसायी महासंघको संयुक्त आयोजनामा वैशाख ११ गतेबाट ‘तेस्रो जनआन्दोलन’सहित आमहड्तालको घोषणा गरिएको छ। आन्दोलनका केन्द्रहरु कोटेश्वर, चाबहिल, गोंगबु, कलंकी, ग्वार्को, बागबजार र कालीमाटी तोकिएको छ। यी स्थानबाट बिहान ११ बजेबाट र्याली सुरु हुने संगठनले जनाएको छ।