काठमाण्डौ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको उच्च जोखिम देखिएको भन्दै थप फैलिन नदिन सोमबार(आज) राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्मका पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको प्रदेशको विपद व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले एक साताका लागि सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउनलाई अझ सशक्त बनाउने निर्णय गरेको बताइएको छ।

एकैपटक १५ जना कोरोना संक्रमित भेटिएको बाँकेको नेपालगञ्ज क्षेत्र कर्णालीसँग सीमा जोडिएको क्षेत्र हो । यहीकारण समेत त्यहाँबाट कोरोना फैलने जोखिमलाई रोक्न प्रदेशको सबै नाका शिल गरिएको बताइएको छ। 

सोमबारको बैठकले भारत लगायत तेश्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि निर्णय गरेको छ। 

यस्तै, प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय समेत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

त्यस्तै प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुनसक्ने विकास निर्माणका आयोजना सुचारु गर्ने निर्णय समेत भएको बताइएको छ ।