काठमाण्डौ । हालसम्म कोरोना संक्रमित नभेटिएको तराईको एक मात्र जिल्ला सुनसरीमा समेत संक्रमित फेला परेका छन् । 

यस्तै, हालसम्म कोरोना संक्रमित नभेटिएको कर्णाली प्रदेशले समेत खाता खोलेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राति दिएको पछिल्लो अपडेटअनुसार विभिन्न जिल्लामा गरी १८ जना संक्रमित थपिएका छन् । योसँगै देशमा कुल संक्रमितको संख्या ३७५ पुगेको छ । 

यसअघि बिहान र दिउँसो गरी देशका विभिन्न भेगमा ६२ संक्रमित फेला परेका थिए । रातिको समेत गरी सोमबार मात्रै ८० कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो अपडेटअनुसार राष्टिय प्रयोगशाला टेकू, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपालगञ्जको भेरी अस्पताल, विराटनगरको कोशी अस्पताल लगायतमा गरिएको पीसीआर परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् । 

थपिएकाहरुमा धनुषा निवासी २ जना पुरुषहरु, खोटाङको हलेसी निवासी एक पुरुष, बाँके नरैनापुर निवासी १२ पुरुष, दैलेखको आठबिस १ का एक पुरुष, सुनसरीका एक पुरुष तथा झापाका एक पुरुष रहेका छन् । 

सुनसरीमा हालसम्म कुनै पनि संक्रमित भेटिएका थिएनन् । 

यस्तै, कर्णाली प्रदेशमा समेत संक्रमित भेटिएका थिएनन् । तर, दैलेखमा भेटिएपछि त्यहाँ पनि कोरोनाले खाता खोलेको देखिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ । गुल्मीमा कोरोनाबाट संक्रमित एक शिक्षकको अवस्था निकै गम्भीर रहहेको छ ।