-भक्तराज रसाइली 
काठमाण्डौ । विश्वस्तरीय भनिएको पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीले दुःख दिएपछि गुनासाका पोका बोकेर नेप्सेसँग छलफल गर्न गएका ब्रोकरसँग कर्मचारीको चर्काचर्की परेको छ । 

अनलाइन प्रणालीको भद्रगोल अवस्थाको विषयमा ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटसहित गएको टोलीसँग नेप्सेका अधिकारी र कर्मचारीको चर्काचर्की परेको हो । 

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार एशोसिएसनबाट गएको ब्रोकर टोलीले अनलाइन प्रणालीको भद्रगोलको विषयमा छलफल गर्ने क्रममा यस्तो भएको सहभागी एक ब्रोकरले जानकारी दिए ।

नेप्सेका सिइओ चन्द्रसिंह साउदले भने सेयर बजारका अभिन्न अंग सेयर ब्रोकरहरुसँग अनलाइन प्रणाली, जोखिम व्यवस्थापन, अनलाइन प्रणालीमा लगानीकर्ताहरुको आकर्षण बढाउने, नयाँ प्रडक्ट लगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

छलफलमा अनलाइनको भेण्डर कम्पनी वाइकोका प्रतिनिधि, नेप्सेका आइटी प्रमुख निराञ्जनसिंह नायक र ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटसहितका अधिकारी सहभागी थिए । नेप्से सीइओ साउदको कार्यकक्षमा करिब ३ घण्टा लामो छलफल भएको थियो ।

उद्घाटन भएको  ३ महिना बितिसक्दा समेत  लाइभ अनलाइन ट्रेडिङ्गमा समस्याहरु आउने क्रम नरोकिएपछि सुधार गरिदिन भन्दै ब्रोकर एसोसिएसनले नेप्सेलाई केही दिनअघि पत्र नै पठाएको थियो । पत्रमार्फत नै अनलाइन प्रणालीको भद्रगोल अवस्थाप्रति आक्रोश पोखेको एशोसिएसनका अधिकारीहरुलाई नेप्सेले त्यसैका आधारमा छलफलमा बोलाएको थियो । 

यता, वाइकोका सपोर्ट व्यवस्थापनका एक अधिकारीले भने १६ महिनाको छोटो अवधिमा फूलफेज अनलाइन ल्याउँदा यो दुर्दशा भएको दाबी गरे । 

ठूला समस्याहरु प्रायः सकिएको तर जोखिम व्यवस्थापन सिस्टम र डीम्याट म्यापिङ्गमा समस्याहरु रहेको र त्यसलाई समाधान गर्नका निम्ति वाइको चिन्तित भई काममा लागिरहेको बिजशालालाई उनले बताए । उनले दाबी गर्दै भने–‘अब सबै समस्याको समाधान फेब्रुअरीको अन्तसम्म भइसक्छ । त्यसपछि मात्र अनलाइन प्रणालीको प्रभावकारिता देखिएला ।’

नेप्सेका आइटी प्रमुख निराञ्जनसिंह नायक भने अनलाइनको भद्रगोल स्थितिलाई पनि सामान्य रुपमा लिइरहेका र अनलाइनमा केही समस्या नभएको जिकिर गरिरहेको नेप्सेस्थित स्रोतले बताएको छ । अनलाइन प्रणालीमा लापरवाही र अपाङ्ग झैं भएको देखेर नेप्सेमा कार्यरत कर्मचारीहरुले समेत चिन्ता व्यक्त गर्दा नायकले भने ‘अनलाइन चल्छ, म एक्लै भए पनि चलाउँछु’ भन्ने बालहठ देखाएको स्रोतको आरोप छ । स्रोत भन्छ–‘नायककै घमण्डका कारणले अनलाइनका नाममा नेप्सेको गरिमा निरन्तर गिरिरहेको छ।’

आक्रोशित सेयर लगानीकर्ताहरुले वाइकोले गुणस्तरीय र विश्वसनीय प्रविधि नबनाएको र अनलाइन नभई सेमीअनलाइन नै भएको आरोप लगाइरहेका छन् । एक सेयर लगानीकर्ता रोहण सेढाईँका अनुसार नेप्से अनलाइन प्रणालीलाई ६ महिना थाँती राखी सिस्टम पूर्ण रुपमा बनाई सञ्चालनमा ल्याउनुमा लगानीकर्ताको हित छ । उनले अनलाइन युजरबाट कारोबार गर्दा अहिले लगानीकर्ता डूब्ने काम मात्र भएको दाबी गरे ।