– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सीडीएससीले ‘मेरो सेयर’मा रहेको ‘डब्ल्यूएसीसी’मा एडिट गर्न मिल्ने सुविधा हटाउने तयारी गरिरहेको छ। 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले महालेखा परीक्षकको कार्यालयको सुझावका आधारमा ‘मेरो सेयर’मा रहेको ‘डब्ल्यूएसीसी’मा एडिट गर्न मिल्ने सुविधा हटाउन लागिएको जानकारी दिएका हुन्। ‘महालेखाले राष्ट्रपतिलाई बुझाएको पछिल्लो प्रतिवेदनमा मेरो सेयरको डब्ल्यूएसीसीमा एडिट गर्न पाउने सुविधा हटाउन सुझाव दिएको छ’, उनले भने। 

खासगरी लगानीकर्ताले आफूले तिर्ने करमा स्वविवेक प्रयोग गरुन् भनेर डब्ल्यूएसीसीमा एडिट गर्ने सुविधा दिइएको छ। ‘तर, केही लगानीकर्ताले दुरुपयोग गरेको आशंका महालेखाले गरेको छ’, न्यौपानेले भने, ‘त्यसैले सम्भवतः आगामी सातादेखि नै डब्ल्यूएसीसीमा एडिट गर्न मिल्ने सुविधा हटाइनेछ।’ 

न्यौपानेका अनुसार त्यो सुविधाको दुरुपयोग गर्दै बजारमा केही टाठाबाठा लगानीकर्ताले कर छली गरेको आशंका महालेखाले गरेको हुन सक्छ। ‘यो सुविधा हटाउँदैमा आमलगानीकर्ता भने डराइहाल्नुपर्ने अवस्था आउँदैन’, उनले भने। 

यदि कसैले गलत विवरण राखेर कर छली गर्न खोजेको खण्डमा सीडीएससीसँगै सबै रेकर्ड हुने पनि न्यौपानेले बताए। ‘कसैले कर छलछाम गरेको भएमा त्यस्ता लगानीकर्ता महालेखाको राडर (निगरानी)भित्र परेका हुन सक्छन्’, उनले भने।