काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधारमूल्यमै पूँजीगत लाभकर असूल्ने आन्तरिक राजश्वको सर्कुलर स्थगन गरे पनि सो बिषयको अन्यौल लामो समयसम्म अन्त नहुँदा र लगानीकर्तामा मार्जिन कलको आतंक फैलिँदा बजार निरन्तर घट्न थालेको छ । यहीकारण साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक(नेप्से) १.४३ अंकले घटेर ११८९.८८ को विन्दूमा समेटिएको हो । 

नेप्से परिसूचकमा झिनो गिरावट भए पनि कारोबार रकममा समेत पहिरो गएको छ । यो दिन १६ करोड ७० लाख रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.१२ अंकले घट्यो ।

यो दिन बजारका ५ समूहको उपसूचकमा सामान्य बढोत्तरी भएको छ भने ५ समूहको उपसूचक चाहि घटेको छ । 

याो दिन बैंकिङ समूह ३.५१ घटेको छ भने जलविद्युत समूह ५.६५ अंक, बित्त समूह ०.९७ अंक, निर्जीवन बिमा समूह ३०.९२ अंक, उत्पादनमूलक समूह  २०.०६ अंकले घट्यो । 

यसैगरी, होटल समूह ४.२४ अंकले  बढ्यो भने विकास बैंक समूह ११.१७ अंकले बढेको छ । अन्य समूह ६.४९ अंक, माइक्रोफाइनान्स समूह ०.२१ अंक र जीवन बिमा समूह ३.६१ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ५ करोड ९७ लाख ५ सय ९७ कित्ता सेयर १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ रुपैयाँमा किनबेच भयो । 

यो दिन कुनै पनि कम्पनीको कारोबार १ करोड माथि भएन । यो दिन सानिमा माई हाइडोपावर कम्पनीले सबैभन्दा बढी कारोबार गर्यो । यो कम्पनीले ८१ लाखको हाराहारीमा कारोबार गर्यो । 

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ७६ लाख, एभरेष्ट बैंकले ७५ लाख, नवील बैंकले ५७ लाख, स्ट्याण्डर्ड चार्टर्ड ४१ लाख, चिलिमे हाइड्रोले ३९ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको ३८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा इन्भेष्टमेन्ट बैंकको ३७ लाख बढीको साधारण सेयरको समेत किनबेच भएको छ। 

यो दिन सहयोगी विकास बैंकले ३४ लाख रुपैयाँ र सिटिजन्स बैंकले ३२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो दिन यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । आरएमडिसी लघुवित्तको सेयरमूल्य ४.१९ प्रतिशतले बढ्यो । 

आइएमई जनरल इन्स्योरेन्स धेरै गुमाउने कम्पनी बन्यो । यो कम्पनीको सेयरमूल्य ५.३० प्रतिशतले घट्यो । प्रोग्रेसिभ फाइनान्सको मूल्य ५.२६ प्रतिशतले घट्यो ।