काठमाण्डौ । कुनै पनि कम्पनी वा फर्मले कर चुक्ताको प्रमाणपत्र लिन आन्तरिक राजस्व कार्यालयहरु धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अब यस्तो प्रमाणपत्र अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सक्ने सुविधा सुरु भएको हो ।

आन्तरिक राजस्व विभागले कुनै पनि कम्पनी वा फर्मले आवश्यक कागजत तथा विवरण अनलाइनमार्फत नै पेस गरी कर चुक्ताको प्रमाणपत्र पनि अनलाइनमार्फत लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।

पहिलो चरणमा विभागले यो व्यवस्था २० लाख रुपैयाँसम्मको कारोबार हुने फर्म तथा कम्पनीलाई उपलब्ध गराएको छ । ‘अबदेखि २० लाख रुपैयाँसम्मको कारोबार हुने फर्म तथा कम्पनीले अनलाइनमार्फत नै कर चुक्ताको प्रमाणपत्र लिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ’, आन्तरिक राजस्व विभागका प्रवक्ता दुर्गादत्त भण्डारीले भने ।

प्रवक्ता भण्डारीका अनुसार करदाता फर्म तथा कम्पनीहरुले अनलाइनमै आफ्नो विवरण पेस गर्नुपर्नेछ । ‘त्यसपछि ती विवरणमाथि प्रक्रिया पुर्याएर करदातालाई कर चुक्ताको प्रमाणपत्र अनलाइनमार्फत नै लिन सकिने व्यवस्था गरिएको छ’, भण्डारीले भने ।

आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा कुनै पनि कम्पनी तथा फर्मले पूर्ण लेखापरीक्षण गरेको विवरण पेस गरेर आन्तरिक राजस्व कार्यालयहरुबाट कर चुक्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । यदि कर चुक्ताको प्रमाणपत्र नलिएमा सम्बन्धित कम्पनी तथा फर्महरु वित्तीय संस्थाहरुबाट ऋण लिनलगायतका सेवासुविधा पाउनका लागि अयोग्य हुने व्यवस्था रहेको छ ।