काठमाण्डौ । कोरोना संक्रमण भए नभएको थाहा पाउने द्रूत उपाय र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी) कस्ता व्यक्तिले गराउनुपर्छ ? धेरैमा आरडिटी कस्ताले गराउने हो भन्ने विषयमा अन्यौल रहेको छ । यही विषय महसुस गर्दै स्वास्थ्य मन्त्रालयले एक सूचनामार्फत तत्काल आरडिटी परीक्षण गराउनुपर्ने व्यक्तिहरुको विषयमा प्रष्ट पारेको छ । 

मन्त्रालयका अनुसार कोभिड १९ समेत भनिने कोरोना भाइरस संक्रमणलाई फैलन नदिन र नियन्त्रणका लागि चैत महिनाभित्र विदेशबाट आएका सबैले आरडिटी टेस्ट गराउनुपर्छ । 

यस्तै, कोभिड पोजिटिभ बिरामीको सम्पर्कमा आएका, कोभिडको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैले यो विधिबाट स्वास्थ्य परीक्षण गराउनुपर्छ । 

यसैगरी, १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेकाले समेत आरडिटी टेस्ट गराउनुपर्छ । 

कोभिड उपचार, निदान, नियन्त्रणमा अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सबैले आरडिटी टेस्ट गराउनुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।