काठमाण्डौ । बजार फेरि सुस्ताएको छ । मंगलबार नेप्से परिसूचक २.९१ अंकले घटेर ११९१.४७ को विन्दूमा समेटिएको हो । 

यो दिन कारोबार रकममा पनि कमी आएको छ । कारोबार रकम घटेर १६ करोड ७७ लाखमा सीमित बन्न पुगेको छ । 

बजार सुधारका लागि महत्वपूर्ण मानिएको ब्याजदर घट्न नसक्दा लगानीकर्ताहरुको मनोबल माथि उठ्न नसकेको हो । प्यानिक बजारमा पछिल्लो समय बैंक तथा बित्तीय संस्थाका आशलाग्दो वित्तीय विवरणको प्रभाव समेत खासै देखिन सकेको छैन । मंगलबार अधिकांश राष्टिय स्तरको विकास बैंकले राम्रो प्रगति गरेको रिपोर्ट सार्वजनिक गरे पनि त्यसले बजारलाई माथि उठाउने मामलामा प्रभावकारी भूमिका निर्वाह गर्न सकेन। 

राम्रो वित्तीय विवरण पस्किएका लुम्बिनी विकास बैंक जस्ता केही कम्पनीको सेयरमा आकर्षण देखिए पनि त्यसले समग्र बजारलाई माथि उठाउन प्रभावकारी भूमिका खेल्न सकेन । 

पछिल्ला केही दिन बजारमा सुधारको संकेत देखिएको थियो । सुधारको अपेक्षामा बसेका लगानीकर्तालाई मंगलबारको बजारको सुस्त गतिले फेरि निराश तुल्याइदिएको छ । यहीकारण निकै सस्तो मूल्यमा बजारमा राम्रा कम्पनीहरुको सेयर पाइँदा समेत लगानीकर्ताले भने किन्ने इच्छा(आँट) देखाइरहेका छैनन् । 

सेयर बजारका प्राविधिक विश्लेषक धनकुमार राईका अनुसार बजारमा ठूलाहरुको चलखेलले सानाले अनपेक्षित घाटा व्यहोरिरहनुपरेको छ । उनको भनाईमा नेपालमा बजारमा केही ठूला लगानीकर्ताहरुले बजार घटेको बेला समेत कुस्त कमाइरहेका छन्, तर अनेक प्रोपोगाण्डा मच्चाएर बजारमा हाबी भई आफू अनुकुलको गति दिइरहेका छन् । ‘यहाँ केही लगानीकर्ता यस्ता छन्, जो बजार घटेकै बेला समेत कुस्त कमाइरहेका छन् ।’ विश्लेषक राईले भने–‘सोझा लगानीकर्तालाई अत्याएर वा गलत सूचनाको शिकार बनाएर बजारमा चलखेल गर्नेहरुको बोलवाला छ । निश्चित समूहले अझै पनि बजारलाई कुन विन्दूमा पुर्याउने र झार्ने भन्ने खेललाई जारी नै राखेको छ ।’

के–के भयो बजारमा ?
साताको तेश्रो कारोबार दिन(मंगलबार) बजारमा क वर्गका कम्पनीहरुमा बिक्री चाप बढेको देखियो, यहीकारण सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.२२ अंकको गिरावट देखियो । 

यो दिन विकास बैंक समूह ३.११ अंकले बढ्यो भने जलविद्युत समूहमा २.९८ र बित्त समूहमा ०.७८ अंकको सुधार देखियो । बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो ।

बैंकिङ समूह २.२६ अंकले घटेको यो दिन होटल समूहमा १७.१८ अंकको गिरावट आयो । यस्तै, निर्जीवन बिमा समूहको उपसूचक २४.९५ अंकले घटेको यो दिन जीवन बिमा समूहमा भने २७.६१ अंकको गिरावट देखियो । माइक्रोफाइनान्स समूह ५.६१ अंकले घट्यो भने उत्पादनमूलक ५.३६ र अन्य समूह २.४६ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ५ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर १६ करोड ७७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँमा कारोबार भयो । 

यो दिन कुनै पनि कम्पनीको सेयर कारोबार रकम १ करोड पुगेन । सबैभन्दा बढी एनएमबी बैंकले ७८ लाख ७८ हजारको हाराहारीमा कारोबार गर्यो । यस्तै, इन्भेष्टमेन्ट बैंकले ७२ लाख, लुम्बिनी विकास बैंकले ६२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ५७ लाख, नवील बैंकले ४७ लाख, सानिमा बैंकले ४६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४५ लाख, प्रिमियर इन्स्योरेन्सले ४४ लाख, एनसीसी बैंकले ४२ लाख र एचआइडिसिएलले ४१ लाखको हाराहारीमा कारोबार गरे । एचआइडिसिएलको मूल्य घटेर १६७ रुपैयाँमा झर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमको इकाई मूल्य ४ प्रतिशतले बढ्यो । सहयोगी विकास बैंक, सिर्जना फाइनान्स र लुम्बिनी विकास बैंकका लगानीकर्ताले समेत कमाए । यी तीनैवटा कम्पनीको सेयर मूल्य ४ प्रतिशतकै हाराहारीमा बढ्यो ।

यो दिन सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । एचआइडिसिएलको मूल्य पनि ३ प्रतिशतको हाराहारीमा घट्यो ।