काठमाण्डौ । कसमस डेभलपमेन्ट बैंकले आगामी साउन ११ गतेदेखि आफ्ना सेयरधनीहरुलाई यसअघि वितरणको निर्णय भइसकेको १०० प्रतिशत अर्थात १ः१ अनुपातको हकप्रदका लागि आवेदन दिन आह्वान गरेको छ । 

बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै हकप्रद वितरणको समय ३५ दिन राखिएको र भदौ १३ गतेभित्रमा आवेदन दिइसक्नुपर्ने स्पष्ट पारेको छ । 

कसमस डेभलपमेन्ट बैंकले १०० रुपैयाँ अंकित दरका ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद वितरण गर्दैछ । 

बैंकको वितरण गर्ने भनेको हकप्रदका लागि सेयरधनी तथा सेयर खरीद गरेर साउन ३ गते तोकिएको किताब बन्द मिति भन्दा अगाडिको समयमा आफ्नो नाममा नामसारी गरेकाहरुले आवेदन दिन सक्ने बताइएको छ । 

सिभिल क्यापिटल लिमीटेड हकप्रद वितरणको बिक्री प्रबन्धक रहेको छ । 

इच्छुक सेयरधनीले कमलादीस्थित सिभिल क्यापिटल लिमीटेडको मुख्य कार्यालय तथा कसमस डेभलपमेन्ट बैंकका सबै कार्यालयहरुबाट आवेदन भर्न सक्ने व्यवस्था मिलाइएको छ । 

१०० प्रतिशत दरले हकप्रद वितरण गरिसकेपछि बैंकको चुक्तापूँजी १० करोड ६ लाख पुग्नेछ । यो बैंकको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । बैंकमा सर्वसाधारण र संस्थापकहरुको सेयर अनुपात ६० : ४० रहेको छ । 

यो बैंकले  चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिमा ९३ लाख ३१ हजार खूद नाफा आर्जन गरेको थियो । 

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो बैंकको हकप्रद सेयरलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ ।