– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साताका सुरुआती दुई दिन नै नेप्से परिसूचक, कारोबार रकम र कारोबार भएको कुल कित्ता संख्या नयाँ कीर्तिमान बनाएका छन्।
बजार जानकार तथा ब्रोकरहरु यसरी बजार बढ्नुमा निषेधाज्ञाका कारण अन्य व्यापारव्यवसाय ठप्प हुनु तथा साना, ठूला र संस्थागत लगानीकर्ता सक्रिय रुपमा सेयर कारोबार लाग्नु नै प्रमुख कारण रहेको बताउँछन्। नेपाल राष्ट्र बैंकले पनि तरलता बढ्दै गएको, अन्तरबैंकिङ ब्याजदर घटेको र बैंक तथा वित्तीय संस्थाको आधारदर घट्दा पनि बजार बढ्न सहयोग पुगेको बताइरहेको छ।
सेयर बजार सधैँ एउटा चक्र तथा सामुद्रिक छालजस्तै वेभमा पनि चल्ने हुनाले बजार सधैँ बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन। अहिले कारोबारको हिसाबले भने बजार निकै मजबुत देखिन्छ। त्यसैले लगानीकर्ताले सुझबुझका साथ कुन कम्पनी कति बढ्यो र बजारको अवस्था के छ भनेर स्वयं नै सचेत हुन आवश्यक छ।
आज हामीले केही प्रविधिक औजारको प्रयोग गरेर बजारको आगामी दिशाका बारेमा अध्ययन गर्ने कोसिस गरेका छौँ।
इलिअट वेभ सिद्धान्त
यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा सेयरको मूल्य लगानीकार्तको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यसमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्।
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ए, बी र सी बजार तल जाने संकेत गर्छ। तर अहिले यो बजारले बनाएको इलिअट वेभको रेखाचित्रलाई अध्ययन गर्दा माथि जाने ५ वेभले आफ्नो चक्र पूरा गरिसकेको र जिगज्याग फ्ल्याट करेक्टिभ वेभ बनाउँदै वेभ ए, बी र सी चलेको देखिन्छ। सामान्यतः ए, बी र सी वेभमा बजार करेक्सन आउनुपथ्र्यो तर जिगज्याग करेक्टिभ वेभ चलेका आधारमा र फिवोनासी एक्सटेन्सनको १.६१ प्रतिशतको वृद्धिको सम्भावनालाई केलाउँदा बजार अझै १०० अंकजति बढेर लगभग २९१८ मा प्रतिरोध गर्ने अनुमान लगाउन सकिन्छ। यदि त्यसपछि बजारमा करेक्सन आएमा वेभ सी चलेको अनुमान गर्न सकिन्छ। (तस्बिर माथि हेर्न सकिन्छ)
फिवोनासी सिद्धान्त
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि बजार बढेमा ०.७८ प्रतिशतको प्रतिरोध २६९६ विन्दु, १ प्रतिशतको प्रतिरोध २७६० विन्दु हुनेछ भने भने १.६१ प्रतिशतको प्रतिरोध २९०८ विन्दुसम्म हुने देखिन्छ।
एमएसीडी लाइन
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत १२ मेका दिन एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेर खरिद सिग्नल बनेको देखिन्छ। जसले खरिद सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्रामहरु (कालो एरोले देखाएको) पोजेटिभ र लामा–लामा हुँदै गएकोले केही समय बुलिस नै रहने अनुमान लगाउन सकिन्छ।
बोलिंगर ब्यान्ड
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात, अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत बजारको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएको तथा सेयरको अन्तिम कारोबारको मैनबत्ती कालो क्यान्डल बनाएकोले आगामी कारोबारमा केही बिक्रीचाप पनि हुन सक्ने देखिन्छ र आगामी कारोबार निकै चनाखो भएर हेर्नुपर्ने हुन्छ।
आरएसआई
यो विन्दुअन्तर्गत १४ दनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। बजारको हालको आरएसआई ७१.१९ मा रहेको छ। जसको अर्थ हुन्छ ओभर बट जोनमा छ। अघिल्लोपल्ट यो विन्दु ७३.२८ को तहमा पुगेपछि करेक्सन आएको थियो। बुलिस बजारमा यो विन्दु लामो समय ओभरबट जोनमा पनि हुन्छ।
निष्कर्ष
बजारलाई हालको कारोबार तथा औजारहरुले देखाएको संकेतका आधारमा बजार बुलिस र मजबुत रहेको भन्न सकिन्छ। तर बजार सधैँ बढीमात्रै नराख्ने तथ करेक्सन आउँदै बढेमा बजार मजबुत हुन्छ। त्यसैले केही औजारले केही बढेपछि करेक्सन पनि हुन सक्ने देखाएकोले बजारको चालअनुसार आफू पनि चल्नु बुद्धिमानी ठान्न सकिन्छ।
नोट : सेयर बजारमा विभिन्न औजारले विभिन्न संकेत गरेका हुन्छन्। संसारमा यस्ता १० हजारभन्दा बढी औजार हुन्छन्। आज हामीले धेरै प्रयोगमा आएका र विश्वासिला औजारहरु इलिअट वेभ र फिवोनासीका आधारमा बजारको विश्लेषण गरेका छौँ। यसको अर्थ बजारमा सतप्रतिशत नै हाम्रो विश्लेषण सही छ भन्ने होइन। लगानीकर्ताले लगानी गर्दा स्वविवेक प्रयोग गर्नुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago