– अर्जुन तिमिल्सिना
काठमाण्डौ । निरन्तर बढिरहेको बजारमा आज भारी करेक्सन आएको छ। करेक्सन आए पनि बजारलाई कारोबारले साथ नै दिएको देखिन्छ।
कतिपय बजार विश्लेषक तथा जानकार आजको बजार घटाइलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। बजार सधैँ बढेको बढ्यै नगर्ने र कहिलेकाहीँको करेक्सनले बजार झन मजबुत हुने उनीहरुको तर्क छ।
कतिपयले भने लगानीकर्तामैत्री बजेट नआएको, लागनीकर्ताले भनेजस्तो कर व्यवस्था तथा नयाँ टीएमएसका लागि बजेट नछुट्याइएका कारण आज बजार नकारात्मक बनेको बताउँछन्।
आज हामीले विश्वमा चलेका केही प्राविधिक औजारमार्फत नेपालको सेयर बजारको आगामी यात्राका विषयमा अध्ययन गर्ने कोसिस गरेछौँ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
यो वेभअनुसार बजारको अहिलेको मुभमेन्टलाई हेर्ने हो भने इन्टरमिडिएट डिग्रीअन्तर्गत (१, २, ३, ४, ५) पूरा गरी लगभग वेभ ५ पूरा भइसकेको तथा नभएको भए पनि केही कारोबारमा हुन सक्ने अनुमान लागाउन सकिन्छ। वेभ ५ को करेक्सन वेभ ‘ए’ हुने भएकोले वेभ ए, बी र सीमा बजारमा करेक्सन हुने गर्छ। यसलाई आधार मान्दा आगामी दिन केही समय बजारमा स्वभाविक करेक्सन हुन सक्ने अनुमान लगाउन सकिन्छ।
बजार अब कति करेक्सन तथा वृद्धि हुन्छ भन्ने जानकारीका लागि फिवोनासी एक्सटेन्सनबाट मात्रै अनुमान लगाउन सकिन्छ। आगामी दिनमा यदि बजार बढेमा १.६१ को वृद्धि २९११ सम्म पुग्न सक्ने देखिन्छ। (तस्बिर माथि)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ को टेवा २७७५.६७, ०.३८ को टेवा २७२७.२२ तथा ०.५ को टेवा २६८४.८१ र ०.६१ को टेवा २६४३.६ सम्म बजार आउन सक्ने देखिन्छ। जुन तस्बिरमा हेर्न सकिन्छ।
एमएसीडी लाइनका
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत सिग्नल बुलिस नै देखिन्छ तर हिस्टोग्रामहरु (कालो एरोले देखाएको) छोटाछोटा हुँदै गएका छन्। हिस्टोग्राम छोटा छोटा हुनु भनेको एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक हुँदै गएर बियरिस क्रसओभर हुन थालेको भन्ने बुझिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको र आइतबारको कारोबारले लङ अप्पर स्याडो अर्थात लामो माथिल्लो धागो बनेको छ। जसले घट्दो बजारलाई संकेत गर्छ। आजको कारोबारले पनि कालो लामो मारुबुजु मैनबत्ती बनाएको छ। (चित्रमा कोठा भित्र कालो एरोले देखाएको) यसले बजारमा बिक्रीचाप पर्न सक्ने पनि अनुमान लगाउन सकिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ७०.८९ रहेको छ। जसको अर्थ हुन्छ, ओभर बट जोनमा छ र अघिल्लो पल्ट यो विन्दु ७३.७६ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago