– अर्जुन तिमिल्सिना

काठमाण्डौ। मुलुकमा कोभिड–१९ को संक्रमण बढिरहेकै बेला सेयर बजारमा पर्न सक्ने असरका बारेमा आमलगानीमा जिज्ञासा उठ्न थालेका छन्। पहिलोजस्तो बजार बन्द होला कि वा बजार नराम्ररी प्रभावित होला कि भन्ने त्रास यतिबेला लगानीकर्तामा देखिन थालेको छ।

एकातिर कोभिडको त्रास र अर्कोतिर राजनीतिक अन्यौलताले लगानीकर्ताहरु द्विविधामा परेको देखिन्छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा कोभिडको असर खासै नपर्ने भएकोले लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्। ‘केभिड त्रासकै कारण लगानीकर्ताको मनोबल घट्दो केही दिन बजार घट्यो तर आज बढेको छ’, रौनियार भन्छन्, ‘बजार घट्नुपर्ने कारण नै छैन।’ 

कोरोनाकै कारण ठूलो संख्यामा अहिले सेयर बजारमा लगानीकर्ता भित्रिएको उल्लेख गर्दै रौनियार कोरानाकालमै बजारले ऐतिहासिक छलाङ मारेको कुरा कसैले बिर्सन नहुने पनि बताउँछन्। ‘अन्य क्षेत्रमा कोरोनाले असर गर्ला तर सेयर बजारमा असर गर्दैन’, उनी भन्छन्, ‘सेयर बजार सुरक्षित रहेकोले ढुक्क भएर कारोबार गर्दा हुन्छ।’

बैंक तथा वित्तीय संस्थाहरुको त्रैमास रिपोर्ट राम्रो आउनु, बैंक ब्याजदर एकल विन्दुमा रहनुजस्ता कारणले बजार सकारात्मक नै रहेको रौनियारको तर्क छ। ‘अहिले नै आत्तिएर बजारबाट बाहिरिनुपर्ने अवस्था छैन’, उनले भने, ‘यतिबेला बरु कमाउने अवसर, अवसरको सबैले सदुपयोग गर्नुपर्छ।’

अहिले पनि सेयर बजारमा अन्डरभ्यालु भएका क्षेत्र निकै रहेकोले राम्रा कम्पनीहरु छानेर लगानी गर्दा फाइदै हुने रौनियारले सुझाव दिए। ‘पुँजी बजार विस्तार र विकासमा नियामक निकायहरुबाट पनि धेरै काम भएका छन्’, उनले भने, ‘अझै सुधारका काम गर्न बाँकी नै छन्, गर्दै जानुपर्छ।’ 

कोभिडको प्रभाव बढे अन्य क्षेत्रको पैसा पनि सेयर बजारमा आउने हुँदा बजार नयाँ उचाइ लिन रौनियारको बुझाइ छ। 

नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल प्रविधिको विकाससँगै घरमै बसेर सेयर कारोबार गर्न सकिने अवस्था भएकोले कोभिडकै कारण आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछिन्। ‘पोहोरजस्तो सेयर बजार बन्द हुने अवस्था छैन’, उनले भनिन्, ‘त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बरु बढ्दो बजारबाट सुझबुझका साथ लगानी गरेर फाइदा लिन म सबैलाई लगानीकर्तालाई सुझाव दिन्छु।’ 

सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकाल पनि मुलुक लकडाउनमा गए सेयर बजार बन्द होला कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘अब लकडाउनले सेयर बजारलाई कुनै असर गर्दैन’, उनले भने, ‘किनकि अनलाइनबाटै कारोबार गर्न सक्ने भएका छौँ।’ 

भुक्तानी प्रणालीलाई चुस्त तथा दुरुस्त पारेको खण्डमा बजार सकारात्मक नै हुने ढकालको भनाइ छ। 

सक्रिय लगानीकर्ता गोविन्दप्रसाद घिमिरे नियामकले लकडाउन भइहाले पनि बजार बन्द हुँदै भनेर आम लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताउँछन्। ‘पहिले र अहिलेको अवस्था फरक छ’, उनले भने, ‘बजार बन्द गर्नुपर्ने आवश्यकता नै छैन। नियामकले यस विषयमा गम्भीर रुपमा चासो दिन आवश्यक छ।’

कोभिड खोपको समुचित विस्तार र स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरेर सेयर बजारलाई निर्वाध रुपमा चलाउनुपर्ने घिमिरेको भनाइ छ।