काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कोभिड–१९ का कारण बन्द रहेका स्टक ब्रोकर हाउसका डिस्प्ले रुमहरु पुनः खुला गर्ने विषयमा अझै कुनै निर्णय लिन सकेको छैन।

कोभिड महामारीका कारण स्टक ब्रोकर हाउसका डिस्प्ले रुमहरुमा लाग्दै आइरहेको भीडभाडबाट संक्रमण फैलने खतरा भएकाले धितोपत्र बोर्डले गत वर्षको चैतदेखि डिस्प्ले खोल्न रोक लगाएको छ। एक वर्षकै अवधिमा नेप्से सूचक दोब्बर बढीले बढिसकेको छ। सेयर बजारसम्बन्धी सूचना, जानकारी तथा हल्लाहरु आदानप्रदान हुने केन्द्रविन्दु बन्दै आएको ब्रोकर हाउसमा कोभिडको असर सामान्यीकरण भइसक्दासमेत डिस्प्ले खुलेका छैनन्। चियाको चुस्की लिँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटबाट भएका सेयर किनबेचको लाइभ अपडेट ब्रोकर हाउसका डिस्प्लेमा देखिन छाडेका छन्।

बढ्दो बजारमा नयाँ लगानीकर्ताका लागि स्कुलझँै बनेका ब्रोकर हाउसका डिस्प्ले धितोपत्र बोर्डले खोल्न लगाएको रोकमा भने आमलगानीकर्ताले नै विरोध जनाएका छन्। ब्रोकर हाउसमा आएर बजारको अपडेटसँगै सेयर खरिदबिक्रीसम्बन्धी विविध विषय र जानकारी आदानप्रदान गर्न तम्सिने लगानीकर्ता हिजोआज बन्द डिस्प्ले रुममै भए पनि निन्याउरो अनुहार लगाई मोबाइलमा बजार नियालेका भेटिन्छन्। 

केही नयाँ सिक्ने थलो र बजारको सूचना आदानप्रदान हुने ठाउँ बनिरहेको ब्रोकर हाउसका डिस्प्ले रुममा भने यसअघिका बुलहरुमा थामिनसक्नु भीड हुन्थ्यो र बजारको तीव्र उत्तारचढावमा तत्काल प्रतिक्रिया जनाई पनि हाल्ने चलन थियो।

यता ब्रोकर कम्पनीहरु भने धितोपत्र बोर्डको निर्देशन पर्खिरहेकाले डिस्प्ले नखुलेको बताउँछन्। बजारको रौनकता र उत्साह भने डिस्प्ले रुमले जीवित तुल्याउने गरेको उनीहरु सम्झिन्छन्।

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले कोभिड संक्रमणलाई ध्यानमा राख्दै डिस्प्ले रुम खोल्न हालसम्म निर्देशन नदिइएको बताए। अनलाइन कारोबार प्रणालीलाई नै प्रोत्साहन गर्ने बोर्डको योजना रहेको र डिस्प्ले रुम खोल्ने विषय छलफल गर्न सकिने उनको भनाइ छ।