काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले यही साताभित्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीका कर्पोरेट बिजनेस हेड गुणराज श्रेष्ठका अनुसार गत आइतबार नेप्सेमा सेयर सूचीकरणका लागि आवश्यक कागजपत्र तथा विवरण पठाइएको छ। ‘बिहीबार वा शुक्रबारसम्म नेप्सेमा सेयर सूचीकरणको सम्झौता हुन सक्छ’, उनले भने, ‘आगामी साताको सुरुआतबाट धितोपत्र दोस्रो बजारमा सेयर कारोबारमा आउन सक्छ।’

सानिमा लाइफको सेयर एसएलआई संकेतमा हितग्राही खातामा जम्मा भइसकेको छ। नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्नेछ। 

सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो।

कम्पनीले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।