काठमाण्डौ । दुई वर्षअघि कोभिड महामारीको सुरुआती चरणमा लकडाउनसँगै सेयर बजार पनि पूर्ण रुपमा बन्द गरिएको थियो। केही समय बन्द भएको सेयर कारोबार लगानीकर्ताको व्यापक दबाबपछि खुल्यो। तर, त्यतिखेरदेखि बन्द गरिएका ब्रोकर हाउसहरुका डिस्प्ले अझै खुला गरिएका छैनन्।
हिजो शनिबारबाट लागू हुने गरी काठमाण्डौ उपत्यकामा यसअघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि लगाइएका सबैखाले प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएको छ। संक्रमण दर घट्दै गएपछि अहिले सबै क्षेत्र खुलेका छन्।
सेयर बजारमा ब्रोकर हाउसहरुमा राखिएका दैनिक कारोबार हेर्न राखिएका डिस्प्लेको छुट्टै महत्व छ। तर, ब्रोकर हाउसहरु निर्वाध रुपमा खुल्नु र ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थित पनि उत्तिकै बढ्दा पनि डिस्प्ले भने खोलिएका छैनन्।
ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ताहरु अहिलेको सहज परिस्थितिमा पनि ब्रोकर हाउसहरुका डिस्प्ले नखोलिनुमा कुनै तुक नरहेको बताउँछन्। ‘सबै लगानीकर्ता घरमै बसेर सेयर बजारको प्रत्यक्ष कारोबार हेर्दैनन्। ब्रोकरहरुमा साथीभाइसँग बसेर सल्लाह गर्दै सेयर खरिद गर्नुको मज्जा नै फरक हुन्छ’, ब्रोकरहाउस भेटिएका एक लगानीकर्ता सुमन त्रिपाठी भन्छन्, ‘सबै लगानीकर्ता अनलाइन चलाउन सक्ने छैनन्। कतिले त अफलाइनबाट पनि कारोबार गर्छन्। अब पनि ब्रोकर हाउसका डिस्प्ले नखोल्नु भनेको लगानीकर्ताको सुविधामाथि अंकुश लगाउनुसरह हुनेछ।’
ब्रोकर हाउसमै भेटिएका एक पुराना लगानीकर्ताले भने, ‘मैले त राम्रोसँग मोबाइलमा हेर्न जान्दिनँ। दैनिकजसो कारोबार समयमा ब्रोकर हाउसमै हुन्छ। डिस्प्लेमा हेर्न निक्कै आनन्द हुन्थ्यो। अहिले नखुल्दा दिक्क लाग्छ।’
घरमा टीभी भए पनि फिल्म हेर्न हलमा जानुको मज्जा नै बेग्लै हुने ती लगानीकर्ताको तर्क छ। ‘त्यस्तै हो नि, ब्रोकर हाउसमा गएर सेयर बजार डिस्प्लेमा हेर्नु र मोबाइल वा कम्प्युटरमा हेर्दा हुने अनुभवको फरक।’
ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली ब्रोकर हाउसका डिस्प्ले खोल्ने विषय छलफलकै चरणमा रहेको बताउँछन्। ‘हामी (ब्रोकरहरु)बीच पनि यस विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘डिस्प्ले खासमा सूचनाका लाागि हो। अहिले हात–हातमा मोबाइल छन्। लगानीकर्ताको संख्या पनि निकै बढेको छ। अब कत्रो डिस्प्ले बनाउने भन्ने विषय पनि छ।’
नेपाल धितोपत्र बोर्डसँग थप छलफल गरेर डिस्प्ले खोल्ने विषयमा निचोडमा पुगिने मैनालीको भनाइ छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19