विश्लेषण नेपालको सेयरबजारको इतिहासकै उच्चतम विन्दुमा पुगेर नेप्से घट्न थालेको तीन वर्षभन्दा बढी भएको छ । २०७३ साउन १२ गते १८८१.४५ अंकमा पुगेको थियो नेप्से । यो विन्दुलाई आधार बनाएर हेर्ने हो भने ११ सय विन्दुनजिकमा आइपुग्दा ७७२ अंक अर्थात ४१ प्रतिशतबराबरले बजार घटेको छ ।

दक्षिणतर्फको यात्रामा नेप्सेले अझै विराम लगाउन सकेको छैन । बजारको यो गिरावट २०६५ देखि २०६८ को गिरावटको तुलनामा भने निकै कम हो । यसको अर्थ सेयरबजार सोहीअनुसार घट्नुपर्छ भन्ने अवश्य होइन । यो तीन वर्षको मूल्यांकन गर्दा नौ महिना अघि नेप्से ११०० विन्दुसम्म झरेर १३०० सम्मको उकालो यात्रा तय गरेको थियो । यसको अर्थ तीन वर्षको अवधिमा बजार निरन्तर घट्यो भनेर भन्ने अवस्था छैन ।

बजारले आफ्नो प्राकृतिक नियमलाई भने पूर्णरुपमा अवलम्बन गरेको छ । बजार यसरी घट्नुमा धेरैले वर्तमान अर्थमन्त्रीलाई दोष दिन्छन् । उनले बजारलाई सही व्यवहार नगरेको वा बजारप्रति सकारात्मक नभएको गुनासो सुन्ने गरिन्छ । यथार्थमा वर्तमान अथमन्त्रीका ठाउँमा अर्को कुनै व्यक्ति अथमन्त्री भए पनि बजार घट्ने नै थियो ।

बजारको वियरिस प्रवृत्तिको प्रमुख कारक वर्तमान अर्थमन्त्री र उनको व्यवहारभन्दा पनि बढी नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिसम्बन्धी नीति र ब्याज दर नियन्त्रणसम्बन्धी कमजोर रणनीति हो ।

२०६५ पछि २०६८ सम्म पनि सेयरबजारमा यस्तै अवस्था सिर्जना भएको थियो । जब बैंक तथा वित्तीय संस्थाले तोकिएअनुसारको पुँजी वृद्धि गर्दै गए अनि बजारमा वियरिस प्रवृत्ति देखा पर्यो र नेप्से ११७५ बाट २९२ सम्म झर्यो । त्यसबेला अर्थमन्त्री बाबुराम भट्टराई थिए । उनले सेयर बजारलाई जुवाको संज्ञा दिए भनेर सेयर बजार घट्यो भन्नेको कमी छैन । तर यर्थाथता त्यसबेला पनि पुँजी वृद्धिको असर सेयरबजारमा परेको थियो ।

अहिलेको कारण पनि त्यही हो । चार गुणाले पुँजी बढाएपछि सैद्धान्तिक रुपमा सेयर मूल्य चार गुणाले तल आउने हो तर चार गुणाले माथि जाने हैन । व्यवहारिक रुपमा केही भिन्नता हुन सक्छ । अहिले भएको यही हो ।

वित्तीय क्षेत्रको बाहुल्य रहेको बजारमा नेतृत्वकर्ता क्षेत्र ओरालो लागेपछि अन्य क्षेत्रपछि लाग्नु वा त्योभन्दा अघि लागेर घट्नु पनि अस्वभाविक हैन । बजारको सिद्धान्त नै यही हो कि मूल्य घट्न थाले पछि नराम्रा छिटो घट्छन् राम्रा अलिक ढिला घट्छन् । अहिले बजार लाई राम्ररी मूल्यांक गर्यौ भने यही पाउन सकिन्छ।

यस्तै अर्को महत्वपूर्ण कुरा जब नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको नीति ल्याउँछ त्यही बेला बैंकिङ क्षेत्रमा तरलताको समस्या देखा परेको छ । जसले ब्याजदरलाई माथि धकेलिदिएको पाइन्छ । जसको उल्टो असर सेयरबजारमा पर्ने गरेको छ । ब्याजदर बढ्दा सेयरमूल्य घट्नु सेयरबजारको सामान्य सिद्धान्त नै हो । समग्रमा सेयरबजारको यो गिरावटको कारण पुँजी वृद्धि र ब्याजदर नियन्त्रण गर्न नसक्ने राष्ट्र बैंकको कमजोरी हो ।

अर्थमन्त्री त केवल बजार घट्दा गाली गर्ने पात्रमात्र हुन् । सेयरबजारको उत्तरतर्फको दीर्घकालीन यात्राका लागि अझै पनि हामीले मन्त्री वा व्यक्ति परिवर्तनभन्दा पनि ब्याजदर परिवर्तनलाई नजिकबाट नियाल्न जरुरी छ । ब्याजदर परिवर्तन दीर्घकालीन कारक हो भने व्यक्ति परिवर्तन अल्पकालीन कारक हो ।