काठमाण्डौ । बाह्र वर्षअघिको बम विस्फोट र घाइतेको हत्या प्रकरणमा संलग्नताको आशंकामा प्रहरीले नेपाली कांग्रेसका एक सांसदलाई पक्राउ गरेको छ । 

नेपाली कांग्रेसका सांसद मोहमद अफताव आलमलाई प्रहरीले आइतबार बिहान रौतहटको गौरबाट पक्राउ गरेको हो । 

प्रदेश २ प्रहरीले आलम पक्राउ परेको घटनाको पुष्टि गरेको छ । डीआइजी प्रद्युमन कार्कीले पुरानो केशको अनुसन्धानको क्रममा आलमलाई पक्राउ गरिएको बताए पनि विस्तृत कुरा खुलाउन चाहेनन् । 

आलम रौतहटको क्षेत्रनम्बर २ बाट अत्यधिक मतसहित सांसदमा विजयी भएका थिए । उनी कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन् । 

संविधानसभाको पहिलो निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले ०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम विस्फोट गराइएको थियो । सो क्रममा केही व्यक्ति घाइते भएका थिए । ती घाइतेलाई स्थानीय एक इँटाभट्टामा लगेर आलमले हत्या गरी घटनालाई गुपचुप बनाएको आरोप लाग्दै आएको छ ।