काठमाण्डौ । नेपाली कांग्रेसले मंसिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचलाई लक्षित गरेर आज (शनिबार) आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। 

कांग्रेसको घोषणापत्रमा अर्थतन्त्रमा हाल देखिएका चुनौतीका समाधान गर्ने कार्यक्रम र देशलाई समुन्नत बनाउने दिगो कार्ययोजना समेटिएका छन्। 

कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ। चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ। घोषणापत्रमा अब ज्येष्ठ नागरिक भत्ता क्रमशः ६५ वर्षमा झारिने उल्लेख छ।

त्यस्तै ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने घोषणापत्रमा संकल्प गरिएको छ। ७३ वर्ष पुगेकाहरुको उपचार निःशुल्क गर्ने घोषणा गरिएको छ। 

घोषणापत्रमा सुत्केरी भत्ता ५ हजार पुर्याउने पनि कांग्रेसले प्रतिबद्धता गरेको छ। 

५० युनिटसम्म निःशुल्क बिजुली

घोषणापत्रमार्फत ५० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने कांग्रेसले प्रतिबद्धता गरेको छ। 

५ वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन

कांग्रेसले ५ वर्षभित्र विद्युत् उत्पादन क्षमता १० हजार मेगावाट पुर्याउने, सबै घरमा बिजुली बालेर प्रतिव्यक्ति विद्युत खपत १२ सय युनिट पुर्याउने, विपन्न परिवारलाई ध्यानमा राखेर ५० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने घोषणा गरेको छ।

परम्परागत इँट्टाभट्टालाई विद्युतीय भट्टाले, ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापित गर्दै लगिने र नयाँ पेट्रोल पम्पहरुमा विद्युतीय चार्जिङ स्टेसन राख्न अनिवार्य गरिने कांग्रेसले प्रतिबद्धता गरेको छ। 

हरेक ५० किलोमिटर सडकखण्डमा कम्तीमा एक चार्जिङ स्टेसनको व्यवस्था मिलाइने कांग्रेसले संकल्प गरेको छ। 

५ वर्षमा ५० प्रतिशत विद्युतीय गाडी

कांग्रेसले आगामी ५ वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग ५० प्रतिशत पुर्याउने संकल्प गरेको छ। घोषणापत्रमा सन् २०४५ सम्म (आगामी २३ वर्ष) मा सहरी यातायातमा खनिज ऊर्जा (डिजेल–पेट्रोल) को उपयोग शून्यमा झार्ने उल्लेख छ।

जलवायु परिवर्तन भई वातावरणीय सन्तुलन र विविधता, भौगोलिक सुन्दरता र जीविकोपार्जनमा गम्भीर असरहरु देखिन थालेको घोषणापत्रमा उल्लेख छ। कार्बन उत्सर्जन र प्रदूषण घटाउने, आम जीवनशैली पर्यावरणमैत्री बनाउने, जलवायु अनुकुलनका योजनाहरू बनाउने र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिइने घोषणापत्रमा संकल्प गरिएको छ। 

नेपाललाई जलवायु उत्थानशील राष्ट्रको रुपमा चिनाउँदै अन्तर्राष्ट्रिय जलवायु वित्त अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अधिकतम पहल गर्ने र विपदका पूर्वसूचना प्रणालीको विकास गर्ने कांग्रेसले प्रतिबद्धता गरेको छ। इन्धनका लागि दाउरा, गुइँठा, भुस आदिको खपत गर्ने जनसंख्या ३५ प्रतिशतमा झार्ने, वन क्षेत्रको संरक्षणका लागि ढाकेको क्षेत्र ४७ प्रतिशत पुर्याउने तथा करिब ४ हजार जति सीमसार, ताल र पोखरीको विशेष संरक्षण गरिने घोषणापत्रमा उल्लेख छ। स्थानीय सीप तथा प्रविधिको विकास र प्रयोग, जैविक ऊर्जा उत्पादन तथा स्वच्छ इन्धनबाट खाना पकाउने र औद्योगिक प्रयोग प्रवर्द्ध गरिने कांग्रेसले प्रतिबद्धता गरेको छ। 

कांग्रेसले अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने कार्ययोजना प्रस्तुत गरेको छ। जससका लागि स्वदेशमै सम्मानजनक रोजगारी र उद्यममैत्री वातावरण बनाउने प्रतिबद्धता गरिएको छ। 

प्राथमिकतामा पूर्वाधार निर्माण

कनेक्टिभिटीसँग सम्बन्धित पूर्वाधार (सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जाल) मा बहुपक्षीय लगानी जुटाउने र त्यसका लागि झन्झटिला ऐन, नियम, प्रक्रिया सुधार गरिने घोषणापत्रमा उल्लेख छ। 

लामो दूरी र बढी तौल नेपाली उत्पादनको अभिसाप भएको भन्दै कांग्रेसले विश्व बजारसँगको दूरी र सडकको अवस्थाले नेपाली वस्तु महँगो भएको ठहर गरेको छ। ‘लागत बढ्दा प्रतिस्पर्धी क्षमतामा ह्रास आउने र तौल कम गर्न प्रविधि चाहिन्छ’, घोषणापत्रमा भनिएको छ, ‘रूपान्तरणकारी आयोजनाहरुलाई पाँच वर्षमा सम्पन्न गर्ने र विभिन्न नयाँ पूर्वाधार बनाइनेछ।’ 

पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्ग र मुग्लिुङ–पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने, हुलाकी, मध्यपहाडी र मदनभण्डारी राजमार्गको निर्माण सक्ने, मनाङदेखि मुस्ताङहुँदै हुम्ला जोड्ने सडकको अधिकांश भाग सम्पन्न गर्ने, मेची, कोसी, सगरमाथा, तमोर, कालीगण्डकी, भेरी, कर्णाली र महाकाली करिडोरको निर्माण सक्ने कांग्रेसले प्रतिबद्धता गरेको छ। 

पाँच वर्षभित्र टोखा–छहरे सुरुङ, नागढुंगा–सिस्नेखोला र सिद्धबाबाका सुरुङमार्ग निर्माण गरिसक्ने, दुम्कीबास–बर्दघाट, माझिमटार–शक्तिखोर, खुर्कोट–चियाबारी, ब्याउलीखोला–इमिल्चिखोला, सुर्खेत–रानीघाट–भूरिगाउँ सुरुङमार्गहरुको निर्माण पनि यसै अवधिमा सुरु गर्ने घोषणापत्रमा उल्लेख छ। 

त्रिभुवन विमानस्थललाई स्तरोन्नति गर्ने र पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सफल रुपमा चलाउने प्रतिबद्धता गरिएको छ। भिट्टामोड–जलेश्वर–जनकपुर कुर्था–जनकपुर–बर्दिबास खण्डसहित विराटनगर रेल्वे खण्ड बनाइसक्ने घोषणापत्रमा उल्लेख छ।

सम्माजनक रोजगारी

त्यस्तै समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रलाई प्रतिस्पर्धी बनाउने र बर्सेनि लाखौँको संख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने कांग्रेसले संकल्प गरेको छ। आर्थिक स्थायित्व सुनिश्चित गर्दै फराकिलो आर्थिक वृद्धिमार्फत लाखौँ रोजगारी सिर्जना गर्न अर्थतन्त्रलाई आयातमुखीबाट उत्पादनमुखी बनाउने घोषणापत्रमा उल्लेख छ।

शोधानान्तर बचत हासिल पहिलो प्राथमिकता

कांग्रेसले बाह्य क्षेत्रमा परेको चाप सहजीकरण गर्न शोधानान्तर बचत हासिल गर्नु पहिलो प्राथमिकता हुने प्रतिबद्धता गरेको छ। त्यसपछि क्षेत्रगत कर्जा विस्तार र वितरण, उच्च आयात प्रवाहको व्यवस्थापन र औपचारिक विप्रेषण वृद्धिका उपायहरु अवलम्बन गर्दै शोधानान्तर बचत हासिल गर्ने पनि कार्ययोजना प्रस्तुत गरिएको छ। 

सरकारी राजस्वले चालु खर्च धान्न हम्मेहम्मे भएको भन्दै कांग्रेसले मितव्ययिताको बृहत प्याकेज लागू गर्ने प्रतिबद्धता जनाएको छ। सार्वजनिक खर्चको निर्मम समीक्षा गर्दै पछिल्ला खर्च पुनरावलोकन आयोगका सिफारिस कार्यान्वयन गरिने घोषणापत्रमा उल्लेख छ। 

घोषणापत्रमा उच्च भएको आयातित कच्चा तथा अर्धप्रशोधित पदार्थमा आधारित औद्योगीकरणभन्दा मुलुकभित्र पाइने कच्चा पदार्थमा आधारित औद्योगिकरणमा ध्यान दिने प्रतिबद्धता गरिएको छ। स्वदेशी सिमेन्ट उत्पादनको वृद्धिले इंगित गरेझैं पानी, वन–जंगल र खनिजका सम्भावना नयाँ चरणबाट नै खोजिने कांग्रेसको प्रतिबद्धता छ। 

डिजिटल रुपान्तरण आवश्यक

नेपालले वस्तु निर्यातभन्दा सफ्टवेर क्षेत्रबाट अधिक विदेशी मुद्रा आर्जन गर्न डिजिटल रुपान्तरण आवश्यक रहेको कांग्रेसको ठहर छ। 
सीमारहित नियमन खाका ल्याएर स्थानीय टेक कम्पनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार हुन सहजीकरण गर्दै डाटासंग्रह केन्द्र, डिजिटल नक्सा, आर्टिफिसियल इन्टेलीजेन्सजस्ता क्षेत्रमा दूरगामी रणनीति बनाइने घोषणापत्रमा प्रतिबद्धता गरिउको छ। 

पेमेन्ट गेटवेदेखि लगानीका लाभांश लैजाने प्रक्रिया, गोपनीयताका कानुनदेखि साइबर सुरक्षासम्म, डिजिटल हस्ताक्षरदेखि डिजिटल ग्राहक पहिचानसम्मका क्षेत्रमा युवा उद्यमीलाई सजिलो बनाइदिने कांग्रेसको संकल्प छ। 

स्वरोजगारीका लागि ऋण

वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउन कांग्रेसले स्थानीय सरकार र वित्तीय संस्थामार्फत संघीय सरकारको ग्यारेन्टीमा स्वरोजगारीका लागि ऋण दिने घोषणा गरेको छ।

बूढीगण्डकी स्वदेशी लगानीमै बनाउने

बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने कांग्रेसले प्रतिबद्धता गरेको छ। अन्य पहाडी प्रदेशमा पनि एक जलाशययुक्त आयोजना निर्माण गर्ने र पाँच वर्षभित्र सबै महानगरहरुमा अधिकांश गाडी विद्युतीय हुने योजना ल्याइने पनि घोषणापत्रमा उल्लेख छ। 

सुनकोसी–मरिन डाइभर्सन, रानी–जमरा गुलरिया, सिक्टा, भेरी–बबई तथा बबइ सिँचाइ आयोजनाहरु समयमै सम्पन्न गर्ने, सतह सिँचाइ सम्भव नभएका ठाउँहरुमा भूमिगत जल सिँचाइका कार्यक्रमहरु सञ्चालन गर्ने र मधेश प्रदेशका आठै जिल्लामा पूर्ण सिँचाइ सुविधा पुर्याइने घोषणापत्रमा प्रतिबद्धता छ।

विपन्नलाई १० हजार किरिया खर्च 

विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकारमार्फत उपलब्ध गराउने कांग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता गरेको छ।