– एसबी थापा

सर्लाही । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। 

रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जितसँगै सर्लाहीमा माओवादी केन्द्रले जितको खाता खोलेको छ। यादव ४ हजार ८१ मत प्राप्त गरी विजयी भएका हुन्। उनले निकटतम प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मत पाएका छन्। 

मत परिणामअनुसार यादवका निकटतम प्रतिस्पर्धी उनकै काका हरिनन्दनप्रसाद यादव छन्। उनले नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए। हरिनन्दनले २ हजार ३३९ मतमात्र प्राप्त गरेका छन्। 

गाउँपालिकको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार गीतादेवी साह ३ हजार ५२३ मतसहित विजयी भइन्। उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कोशिला साहले २६ सय ३७ मतमात्र प्राप्त गरिन्। 

यस्तै स्वन्त्र उम्मेदवारी दिएका निवर्तमान अध्यक्षका छोराले केएस राहुल बर्माले १ हजार ६०० सात मत मात्र प्राप्त गरे। २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार कृष्णप्रसाद बर्मा निर्वाचित भएका थिए। उनको गत बर्ष असारमा निधन भएको थियो। सुरुमा उनकै छोरालाई कांग्रेसको तर्फबाट टिकट दिने भनिए पनि नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

गाउँपालिका अध्यक्षमा विजयी उम्मेदवार राजाबाबु सर्लाही क्षेत्र नम्बर ४ का प्रभावशाली माओवादी केन्द्रका नेता एवं पुर्व सांसद शिवपुजन रायका जेठा छोरा हुन्। 

– न्युज कारखाना