-सन्तोषी अधिकारी
काठमाण्डौ । स्वास्थ्य सेवा प्रदान गर्ने नाममा नेपालमा अनेक खालका लुटहरुको खेती हुने गरेको छ । सर्वसाधारणले औषधिमा त ठगिइनु पर्छ नै उपचार पद्धतिमा समेत उनीहरुलाई चिकित्सक, स्वास्थ्यकर्मी र जिम्मेवार अस्पतालहरुले पनि ठग्ने गर्छन । सामान्य स्वास्थ्य समस्यालाई ठूलो देखाएर होस् या यस्तै अन्य अनेक तिकडम गरेर । च्याउसरी खुलेका अस्पताल तथा स्वास्थ्य सेवाहरुले बिरामीहरुलाई सकेसम्म लुट्ने र आफू कमाउने धन्दामा लाग्दा बिरामीको स्वास्थ्यमा पर्नसक्ने दीर्घकालीन असरको विषयमा कुनै पनि परवाह नगर्ने पाइएको छ । पछिल्लो समय नवजात शिशु जन्माउन योग्य गर्भवती महिलाहरुलाई समेत राजधानीका अस्पतालहरुले अनेक त्रास देखाएर पैसा कमाउनैका लागि मात्र जथाभावी ढंगले सिजर गरी(अप्रेसन गरी) बच्चा निकाल्ने क्रम बढेर गएको देखिएको छ । 

मातृत्व महिलाको प्राकृतिक प्रक्रिया भए पनि शल्यक्रिया अर्थात् सिजेरियन डेलिभरी गर्ने प्रवृत्ति शहरी क्षेत्रमा ह्वात्तै बढेको भन्दै सरोकारवालाले चिन्ता समेत व्यक्त गरेका छन् । 

च्याउसरी खुलेका नर्सिङ होम र निजी अस्पतालहरुमा नर्मल डेलिभरी कम र सिजेरियन डेलिभरीको संख्या उच्च रहेको छ । 

पछिलो समय नेपालका शहरी क्षेत्रहरुमा प्राकृतिक जन्मदरमा ह्रास आएको अध्ययनले देखाएको छ । नर्मल डेलीभरीभन्दा सिजेरियन डेलिभरी अर्थात् अप्रेसन गरेर बच्चा जन्माउने आमाहरुको संख्या बढ्दो छ । 

आमा र बच्चाको ज्यान वा स्वास्थ्यमा खतरा आइपर्ने देखिए मात्र सिजेरियन सेक्सन अपनाउनुपर्ने भए पनि निजी स्वास्थ्य संस्थाहरुमा १–२ वटा मात्र डेलिभरि नर्मल हुने र अधिकाँश डेलिभरी शल्यक्रियाबाटै हुने गरेको छ । कतिपय अवस्थामा सिजेरियन डेलिभरी आमाको ईच्छा अनुसार हुने भए पनि प्राय निजी अस्पतालमा चिकित्सकहरुले गर्भवती महिलाहरुलाई तपाइँको बच्चाले गर्भमै फोहोर खाएको छ, तपाईको बच्चा नर्मल डेलिभरी गराउन आमाका लागि खतरा छ भन्ने जस्ता विभिन्न त्रास देखाई विभिन्न बहानामा सिजेरियन डेलिभरी गराइरहेका आरोप समेत लगाइएको छ । 

जनस्वास्थ्य क्षेत्रमा लामो समय लागेकी डा.लक्ष्मी तामाङले अप्रेशन गर्दा तीस हजारदेखि एकलाख रुपियाँसम्म सिजेरियन डेलिभरी शुल्क आउने भएकाले पनि अधिकाँश चिकित्सक अप्रेसन गर्नमै जोड दिने गरेका दाबी गर्छिन । 

चिकित्सकहरुको अध्ययन अनुसार १० देखि १५ प्रतिशत गर्भवतीमा मात्र डेलिभरीको बेला समस्या आउँछ । त्यसमध्ये ५ प्रतिशतलाई मात्र शल्यक्रिया आवश्यक हुन्छ । थापाथलीको प्रसूति गृहमा १५ प्रतिशतभन्दा कम मात्र सिजेरियन डेलिभरी हुन्छ । काठमाडौंमा सञ्चालित अस्पतालहरुमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सिजेरियनको दर २५ प्रतिशत रहेको छ । तर काठमाडौँ मेडिकल कलेजमा यो दर ४४ प्रतिशत छ । यस्तै कीर्तिपुर अस्पतालमा ४९ प्रतिशत छ । अझ चाबहिलस्थित ओम अस्पताल, बि एण्ड बी अस्पताल, भ्याली मेटरनिटी अस्पतालमा ८० देखि ९० प्रतिशत जन्मदर शल्यक्रियाबाटै गरिन्छ । 

नर्सिङ होम वा मेडिकल कलेज तथा निजी अस्पतालहरुले नर्मल डेलिभरी भन्दा सिजेरियन डेलिभरी तीनगुणा बढी हुने गरेको तथ्याङ्कले देखाएको छ । निजी अस्पतालहरुले व्यापारीकरणका लागि नर्मल डेलिभरीमा भन्दा पनि सिजेरियनमा बढी जोड दिने गरेका पाइएको छ । यी अस्पतालहरुले ३० हजारदेखि एकलाख रुपियाँसम्म सिजेरियन डेलिभरी शुल्क असूल्ने गरेका छन् । 

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.लता बज्राचार्यले कुनै पनि बहानामा सिजेरियन सेक्सनलाई प्राथमिकता दिनु गलत रहेको तर्क गर्छिन् । उनका अनुसार महिलाको स्वास्थ्य अवस्था हेरेरे प्राकृतिक डेलिभरी हुनै नसक्ने अवस्थामा मात्र गरिनुपर्ने, तर यसलाई बन्देज लगाउनु पर्ने बताउँछिन् । सिजेरियन डेलिभरीमा बच्चाले जन्मनेबित्तिकै मातृ वात्सल्यबाट बञ्चित हुनुका साथै आमाको स्वास्थ्य लामो समयसम्म सामान्य बन्नसक्दैन ।

आधुनिकतासंगै बढेको स्वास्थ्य चेतनाका कारण सिजेरियन डेलिभरी गर्दा प्रसव पीडा नहुने, छिटोछरितो हुने भन्दै कतिपय आमाहरु सिजेरियन डेलिभरी गराउन चाहान्छन् । अमेरिका जस्तो विकसित देशमा सिजेरियन डेलिभरीको अनुपात ८ देखि ९ प्रतिशत रहेको देखिन्छ भने यो अनुपात समयक्रमसंगै घट्दो छ । तर नेपालमा भने सिजेरियन सेक्सन बढ्दो छ । 

चिकित्सकहरुले सकेसम्म प्राकृतिक तरिकाबाटै बच्चा जन्माउनु आमा र बच्चाका लागि नै लाभदायक हुने सुझाव दिएका छन् ।